सोमबार, मंसिर २९, २०८२

दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

नेपालखोज २०८२ मंसिर २९ गते १२:१९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेका छन् । उनले त्यसका लागि नवीन सोच, शैली र योजना एवम् त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिएका छन् ।

राष्ट्रपति पौडेलले ३१औँ महानगर दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरे । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित होऔँ, इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पन्ने दायित्व हाम्रो काँधमा छ, यो दायित्व पूरा गर्नबाट हामी चुक्न हुँदैन भन्ने म ठान्दछु, त्यसका लागि नवीन सोच, शैली र योजना तथा त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ’, राष्ट्रपति पौडेलले भने ।

उनले राजनीति पेसा, व्यवसाय होइन यो त समाजसेवाको उत्कृष्ट माध्यम हो भन्ने भाव हामी सबैमा जागृत हुन जरुरी छ भने । युवा पुस्ताको आन्दोलनमा प्रकट भएको चाहना पनि यही रहेको उनको भनाइ थियो ।

मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि भएकाले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पारेर अघि बढ्न राष्ट्रपति पौडेलले अपिल गरे ।

प्रतिक्रिया