झण्डै एक खर्बको निर्यात हुँदा छ खर्ब ९ अर्बको आयात, पाँच खर्ब १५ अर्बको व्यापार घाटा

काठमाडौं । मुलुकको निर्यात व्यापार बढेपनि आयात उच्च हुँदा व्यापार घाटा उच्चरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको चार महिना अर्थात कात्र्तिक मसान्तसम्मको प्रतिवेदन अनुसार व्यापार घाटा उच्च देखिएको हो ।
यस अवधिमा मुलुकको कुल वस्तु निर्यात ७७ दशमलव पाँच प्रतिशतले बढेर ९३ अर्ब ५० करोड पुगेको हो ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात चार दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय १३ दशमलव नौं प्रतिशत र दुई दशमलव नौं प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५६ दशमलव दुई प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ को चार महिनामा कुल वस्तु आयात १८ दशमलव सात प्रतिशतले वृद्धि भई छ खर्ब नौं अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात शुन्य दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः छ दशलव छ प्रतिशत, २८ दशमलव पाँच प्रतिशत र ४८ दशमलव नौं प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, सुन, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन, दाललगायतका वस्तुको आयात घटेको छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ को चार महिनामा कुल वस्तु व्यापार घाटा १२प्रतिशतले वृद्धि भई पाँच खर्ब १५ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा शुन्य दशमलव तीनप्रतिशतले कमी आएकोे थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.३ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव तीन प्रतिशत रहेको थियो ।समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५४ अर्ब ९८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात.५७ अर्ब २४ करोड बराबरको भएको थियो ।

प्रतिक्रिया