मंगलबार, पुष १, २०८२

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : आयोग

नेपालखोज २०८२ पुष १ गते २०:५५

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताएका छन् ।

आज निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन केन्द्रित सरकारका मन्त्रीसहितको छलफलमा उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नका लागि आयोग निर्वाचन घोषणा भएदेखि नै दृढ अठोटका साथ लागेको र अब पनि दृढ अठोटका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले भने ‘राष्ट्रपतिबाट निर्वाचन घोषणा भएको दिनदेखि नै आयोगले शून्यबाट उठेर काम सुरु गरेकामा हालसम्म करिब ७० प्रतिशत काम भएको छ । निर्वाचनको वातावरण बनिरहेको छ । निश्चित प्रक्रिया पूरा गरेर निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन । त्यसमा हामी लागिरहेका छौँ ।’

उनले निर्वाचनको लागि संविधान, ऐन/कानुन पुरानो भएको र प्रविधि र केही पद्धति परिवर्तन गर्नुपर्छ भन्ने सन्दर्भ आएको उल्लेख गर्दै विभिन्न माग राख्दै हरेक दिन दुई/चारवटा ज्ञापनपत्र आउने गरेको सुनाए । कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आयोगसँग मात्रै सम्बन्धित ऐन/कानुन, नियमलाई संशोधनमार्फत सहज बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा खर्चको नियन्त्रणसम्बन्धी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राख्नुभएको जिज्ञासामा भण्डारीले मितव्ययी ढङ्गले खर्च गर्न आयोग सचेत रहेको बताए ।

उम्मेदवारले गर्ने खर्चको सवालमा उम्मेदवारको भूगोल र निर्वाचन क्षेत्रको मतदाताको सङ्ख्याको आधारमा खर्च गर्न दिने गरिएको भण्डारीको भनाइ छ ।

प्रतिक्रिया