बिहीबार, पुष ३, २०८२

निकासी पैठारी संघ र चेम्बरका पदाधिकारीबीच छलफल

नेपालखोज २०८२ पुष ३ गते २०:११

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच व्यवसायको अवस्था र आगामी सम्भावना तथा आपसी हितका विषयमा बृहत् छलफल भएको छ ।

बुधबार संघको सचिवालयमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष कमलेश कुमार अग्रवाल, अनरेरी उपाध्यक्ष अर्जुनप्रसाद शर्मा र उपाध्यक्ष सन्तोष पाण्डे सहभागी रहेको थिए । संघको तर्फबाट अध्यक्ष शिवकुमार अग्रवाल लगायत कार्यसमितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष शिवकुमार अग्रवालले नेपाल चेम्बर अफ कमर्स र नेपाल समुद्रपार निकासी पैठारी संघले क्रमशः ७५ र ५० वर्षको इतिहास बोकेका संस्थाहरु भएको र दुवैका सरोकारका विषय लगभग समान रहेकोले सहकार्य गरेर अघि बढ्ने संघको उद्देश्य रहेको बताए ।

व्यवसायीमा अन्योल छाएको अहिलेको अवस्थामा संघ सदस्यहरुको मनोबल उकास्न लागिपरेको पनि उनले बताए । यो बेला चेम्बरलगायत निजी क्षेत्रका संस्थाहरुको सहकार्यले व्यवसायीमा सकारात्मक ऊर्जा प्राप्त हुने उनले बताए ।

चेम्बर निजी क्षेत्रको प्रभावशालीमध्येको एक संस्था रहेकोले अन्य संघसंस्थाले चेम्बरबाट सिक्दै अघि बढ्नुपर्ने र चेम्बरले उनीहरुलाई मार्गदर्शन गर्नुपर्ने बताए ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले अहिले मुलुकमा लगानीको लागि उपयुक्त समय आएको भन्दै सहभागी व्यवसायीलाई यो मौकाको सदुपयोग गर्न आग्रह गरे ।

‘लगानी गर्ने भनेकै यस्तै चुनौतीपूर्ण समयमा हो । व्यवसायीले चुनौतीभित्रै अवसर खोज्ने हो, अवसर हुने पनि चुनौतीभित्रै हो । अहिले जसले आँट गरेर लगानी गर्न सक्छ, त्यसले सफलता पाउँछ,’ उनले भने ।

‘अहिले बैंकमा तरलता प्रशस्त छ । उनीहरु ऋण दिन तयार छन् । यो बेला सस्तो ब्याजदरको ऋण लिएर काम गर्नेले राम्रो प्रतिफल पाउँछ ।’

उनले निजीक्षेत्रका संघसंस्थासँग हातेमाले गरेर अघि बढ्न चेम्बर तयार रहेको पनि बताउनुभयो । उहाँले चेम्बर आन्दोलनका विविध आयामबारे पनि प्रकाश पारे ।

प्रतिक्रिया