बुधबार, पुष ९, २०८२

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

नेपालखोज २०८२ पुष ९ गते ९:३३

खोटाङ । भौतिक पूर्वाधार कार्यालयले १ सय १२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२–८३ का लागि स्वीकृत भएको ६६ करोड रुपैयाँ बराबरको १ सय २२ आयोजनाको ठेक्का गर्नुपर्ने जनाइएको छ ।

ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अगाडि बढेको भौतिक पूर्वाधार कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए । उनले भने, ‘जग्गाको स्वामित्व नरहेको तथा स्थानीयको विवाद रहेको जस्ता आयोजनाको ठेक्का आह्वान गर्न बाँकी छ । ती आयोजनाको पनि चाँडै ठेक्का आह्वान गरेर प्रक्रिया अगाडि बढाउँछौँ ।’

दश स्थानीय तह रहेको खोटाङमा आव २०८२–८३ का लागि प्रदेश सरकारबाट स्वीकृत भएको एक अर्ब रुपैयाँ बढीका १ सय ६४ आयोजना परेका छन् । पूर्वाधार कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा सडक कालोपत्र, सडक विस्तार तथा स्तरोन्नति, मोटरेबल पक्की पुल तथा झोलुङ्गे पुल निर्माण, आवास, कार्यालय तथा विद्यालय भवन निर्माणलगायत आयोजना छन् ।

कोशी प्रदेश सरकारबाट स्वीकृत आयोजनामध्ये बहुवर्षीय आयोजनाका लागि प्रस्ताव पेस गर्नुपर्नेमा २४ तथा १० बहुवर्षीय आयोजना चालु अवस्थामा रहेको जनाइएको छ । आव २०८२–८३ का लागि ठेक्का आह्वान गरिएका कतिपय आयोजनामा सम्बन्धित निर्माण कम्पनीसँग सम्झौता गरेर निर्माणको प्रक्रियासमेत अगाडि बढाइएको कार्यालय प्रमुख दाहालले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास कार्यालयले जिल्लामा परेका आयोजनाको ठेक्का समयमै आह्वान गरेपछि निर्माण व्यवसायी पनि खुसी बनेका छन् । गत कात्तिक २ गतेदेखि पुस ३ गतेभित्र ११२ वटा आयोजनाका लागि पूर्वाधार कार्यालयले ठेक्का आह्वान गरेपछि निर्माण कम्पनीहरू सम्झौता गर्न भ्याइनभ्याई भएका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा बढी आयोजनाका लागि बजेट परेको दाबी गरिएको छ ।

कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी खोटाङ क्षेत्र नं २ (ख)का प्रदेशसभा सदस्य भूपेन्द्र राई सम्हालेपछि करिब एक अर्ब रुपैयाँ बढीको १ सय ६४ वटा आयोजनाका लागि एकैसाथ बजेट विनियोजन गरेका हुन् ।

कोशी प्रदेश सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका भौतिक पूर्वाधार विकासमन्त्री राईले पहिलोपटक जिल्लामा यति धेरै आयोजनाका लागि बजेट विनियोजन गर्नुभएपछि खोटाङवासीले मन्त्री राईलाई धन्यवाद दिँदै खुसी व्यक्त गरिरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले जिल्लामा आएका बजेट तथा आयोजनालाई पारर्शी र गुणस्तरीय ढङ्गले कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय तथा मन्त्री राईलाई सुझावसमेत दिइरहेका छन् ।

तत्कालीन वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहेका मन्त्री राईले जिल्लाका सबै स्थानीय तहलाई समेटेर बजेट विनियोजन गर्नुभएको सचिवालयको दाबी छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको रातो किताबमा उल्लेख भएअनुसार जिल्लामा आएका आयोजनामध्ये सबैभन्दा बढी रसुवाघाट–पाँचधारे सडक निर्माण आयोजनाका लागि १० करोड रुपैयाँ बजेट उपलब्ध भएको छ ।

प्रतिक्रिया