बिहीबार, पुष १०, २०८२

बाह्रखरी कथा प्रतियोगितामा शिवराजको ‘एक मान्ठ एक देउता’ प्रथम

नेपालखोज २०८२ पुष १० गते १९:१९

काठमाडौं । बाह्रखरी कथा प्रतियोगितामा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा पहिलो भएको छ । उक्त कथाले रु दुई लाख पुरस्कार प्राप्त गरेको छ ।

बाह्रखरी मिडियाद्वारा आज यहाँ आयोजित उत्कृष्ट कथा घोषणा समारोहमा ऋतेश गुरुङद्वारा लिखित ‘भुइँकुहिरोको बीचमा’ शीर्षकको कथा दोस्रो भएको छ भने इन्द्रप्रसाद गोतामे (जगतजङ)द्वारा लिखित ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथा तेस्रो भएको छ । दोस्रो हुनेले रु एक लाख र तेस्रो हुनेले रु ६० हजार पुरस्कार प्राप्त गरे ।

विजेताहरुलाई प्रधानमन्त्री सुशीला कार्कीले पुरस्कार तथा सम्मान प्रदान गरेकी थिइन् । त्यस अवसरमा उत्कृष्ट २५ कथालाई जनही रु सात हजार पुरस्कारसहित सम्मान गरिएको थियो । बाह्रखरी मिडियाका अध्यक्ष तथा सम्पादक प्रतीक प्रधानले प्रतियोगितामा एक हजार १६८ कथा सहभागी भएइको जानकारी दिए ।

उनले सातौँ शृङ्खलासम्म आउँदा थप उत्साहित बनाएको र साहित्यकारमा ऊर्जा मिलेको महसुस भएको प्रतिक्रिया दिए । प्रतियोगिताको निर्णायक समितिका संयोजक अशेष मल्ले नेपाली साहित्यमा नयाँ पुस्ता आएको यो प्रतियोगिताले प्रष्ट पारेको बताए ।

डिस होम मिडियाका अध्यक्ष हेमराज ढकालले, अङ्ग्रेजी साहित्यका लेखक सम्राट उपाध्यायले कथा लेखन प्रतियोगिताले साहित्यकारमा हौसला प्रदान भएकाले यस्ता कार्यक्रम भइरहनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले कथासङ्ग्रहको विमोचनसमेत गरेका थिए । बाह्रखरी मिडियाले २०७५ सालदेखि कथा प्रतियोगिता गर्दै आएको छ ।

प्रतिक्रिया