इँटाभट्टा दबिएका बाल सपना

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित इँटाभट्टामा दाङ घोराहीका १४ वर्षे सागर घर्ती बिहान पाँच बजे काममा तल्लिन छन् । उनी चिसो बिहानीमा चिसो माटोलाई साँचोमा राखेर इँटा बनाइरहेका छन् ।
घर्तीको सपना भविष्यमा पुलिस बन्नु हो । तर पढाइ लेखाइ गर्ने समयमा उनी बुवालाई साथ दिन काठमाडौँ आइपुगेका छन् । आर्थिक अवस्था कमजोर भएपछि बुवाको साथ लागेर आफू पैसा कमाउन यहाँ आएको उनले सुनाए । यहाँ कमाएको पैसाले घरमा रहेकी आमाको उपचार र बहिनीलाई पढाउन खर्च हुने उनको भनाइ छ ।
कक्षा ५ सम्म पढेका सागरलाई अझै पनि पढ्ने इच्छा छ । गत वर्ष पढाइलाई निरन्तरता दिन बुवा, आमा, बहिनीसँगै घर फर्किएका थिए । तर यस वर्ष भने फर्कने टुङ्गो छैन । सर्लाही रानीघाँटबाट आमाबाबुसँगै भक्तपुरको इँटाभट्टामा आइपुगेकी ११ वर्षीया रामप्यारी विकको भविष्य पनि सागरको जस्तै साँघुरो झ्याउलीको कुनामा कोचिएको छ ।
झ्रयाउलीको बसाइ, गरिबीको पीडा र तीन जना सन्तानमध्येकी जेठी उनी १० वर्ष हुँदा गतवर्ष पनि यही इँटा भट्टाको झ्यालीमा ६ महिना आमाबाबुसँगै बसेर फर्किएकी थिइन् । यहाँ उनको दैनिकी भाइबहिनीको रेखदेख गर्ने र अपराह्नपछि बिहान बनाएको इँटा पल्टाउने र सुकाउँदै बित्ने गरेको छ । त्यस काम गरेवापत उनले छुट्टै पारिश्रमिक भने पाउँदिनन् । उनले गरेको कामको पारिश्रमिक पनि बाबुले लिएको ठेक्कामै परेको छ । रामप्यारीको बुबा कान्छा विक छोरीलाई बालश्रममा लगाएको स्वीकार गर्नु हुन्न ।
त्यसैगरी आमाबुवासँग रोल्पादेखि आएकी १५ वर्षीया जुनकिरी सार्कीको कथा पनि उस्तै छ । उत्कट पढ्ने इच्छा हुँदा हुँदै उनी इँटाभट्टाको धूलोसँगैै पढ्ने उमेर बिताउनुपरेको छ । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टामा काम गर्न थालेको पाँच वर्ष बितिसक्दा उनको पढ्ने चाहनाले पूर्णता पाएन ।
बुवाआमासँगै इँटाभट्टामा आइपुगेकी उनले मङ्सिरदेखि वैशाखसम्म इँटाभट्टाकै झ्याउलीमा बस्ने, इँटा पार्ने, बोक्ने काम गर्दै आएकी छिन् । जुनकिरी भन्छिन्, ‘पढ्ने चाहना त छ तर आमाबाबुको कमाइले ऋण तिर्नै पुग्दैन ।’
नाइकेको लहलहैमा तीन वर्ष अगाडि इँटाभट्टा प्रवेश गरेका १४ वर्षीय मने अर्थात मनबहादुर खड्का अब पढेर के हुन्छ र भन्ने अवस्थामा पुगेका छन् । भकुण्डेवेँसीमा रहेको परिवार छाडेर पैसा कमाउने रहरमा इँटाभट्टामा छिरेका उनले छ महिना इँटा भट्टामा र छ महिना बसका खलासीका काम गर्दै आएका छन् ।
‘यहाँ खान पाइएकै छ, दुई चार सय भए पनि पैसा खेलाउन पाएको छु, कहिले इँटाभट्टा त कहिले खलासी गरिरहेको छु, मेरो सपना त ड्राइभर बन्ने हो ।’
इँटा बोक्दै गरेकी १७ वर्षीया टुल्की विकलाई सबैभन्दा ठूलो चिन्ता एक वर्षकी एउटा छोरीको छ । श्रीमान्सँगै इँटाभट्टामा काम गर्दै आएकी विकलाई ठेक्का लिएको इँटा सबै सिध्याउँदा पाए हातमा रकम लिएर गाउँ फर्कन पाउने आशा उनको मनमा छ ।
एक अध्ययनअनुसार देशभरिका इँटाभट्टामा करिब २८ हजार बालश्रमिक छन् । भक्तपुरका इँटाभट्टा मात्रै ५०० भन्दा बढी बालबालिका छन् । त्यसो त भक्तपुरका चार वटा इँटाभट्टालाई बालश्रममुक्त घोषणा गरिएको पाँच वर्ष भयो । तर कुनै अनुगमन छैन । अहिले तिनै इँटाभट्टामा बालश्रमिक छन् । नियमनकारी निकाय नहुदाँ बालश्रम रोक्न सकिएको छैन ।
इँटा व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष नातीभाई ह्याम्बाले इँटाभट्टालाई बालश्रम मुक्त बनाउन खोजे पनि अभिभावकसँगै आउने बालबालिकालाई रोक्न नसकिएको बताउँछन् । रोल्पा, दाङ, रुकुम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायतका जिल्लाबाट मजदुरसँगै आउने बालबालिकालाई काम नलाउ भने पनि अभिभावकले काम लगाउने गरेको व्यवसायीको गुनासो छ ।
अहिले बालबालिकाको पढाइका लागि स्कुल पठाउने व्यवस्था गरेको बताउँदै नाइकेसँगै आउने बालबालिकालाई काममा नलगाउने गरेपछि आउन छाडेको उनी बताउँछन् । इँटाभट्टामा पहिलाको जस्तो बालश्रम नरहेको उनको दाबी छ ।
बालश्रमको क्षेत्रमा विगत ३१ वर्षदेखि काम गर्दै आएको संस्था समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) की अध्यक्ष विमला ज्ञवालीले अहिले ११ लाख बालबालिका कुनै न कुनै श्रममा आबद्ध रहेको बताउँछन् ।
आफ्नो संस्थाले बालश्रम रोक्नलाई गाउँमै अभिभावकलाई स्वरोजगार बनाउने कार्यक्रमसमेत रामेछाप, सिन्धुपाल्चोकलगायतमा सुरु गरेको बताउँदै सरकारले अभिभावकलाई गाउँमै स्वरोजगार बनाउन सके बालश्रम रोक्न सहज हुने बताउँछन् ।
बाल अधिकारकर्मी युवराज घिमिरेले नेपालमा अहिले पनि करिब दुई लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको बताउँछन् ।
बालश्रममा आउनुको मुख्य कारण गरिबी नै रहेको उनको भनाइ छ । गाउँगाउँका स्थानीय सरकारले स्वरोजगार बढाउन सके बालश्रम रोकिने उनको भनाइ छ । -रासस








प्रतिक्रिया