शुक्रबार, पुष ११, २०८२

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

नेपालखोज २०८२ पुष ११ गते २०:५४

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताएकी छन् । नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा आज प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभाको निर्वाचनमा जान ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा सबै एकताबद्ध हुनुपर्ने धारणा राखेकी हुन् ।

‘चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्, फरक विचार भएर नै यति धेरै दल दर्ता भएका होलान्’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘विचारमा विविधता हुनु र आफ्ना विचारको पैरवी गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो । तर यति हुँदाहुँदै पनि राष्ट्रिय हितका निम्ति देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ ।’

निर्वाचनको पक्षमा पनि अहिले सबै यसैगरी एक ठाउँमा उभिने बेला आएको उनले बताइन् । ‘विषम परिस्थितिमा हामी सबै सम्हालिएर अगाडि बढ्नुपर्नेछ’, उनले अगाडि थपिन्, ‘सबैको विचार एउटै हुँदैन । मेरो विचारमात्र ठिक भन्नु पनि लोकतन्त्रसम्मत हुँदैन । आफ्ना विचार जनतामा लिएर र जनताबाट अनुमोदित भएर आउने अवसर निर्वाचन हो । त्यसैले निर्वाचनलाई सफल पारौँ । देशलाई अप्ठ्यारो अवस्थाबाट जोगाउन तपाईँहरू सबै एक ठाउँमा आउनुपर्छ ।’

उनले चुनाव सफल बनाउन सरकार आफ्नोतर्फबाट सम्पूर्ण रूपले तयारी गरिरहेको जानकारी दिँदै सुरक्षाका सवालमा पनि शङ्का नगर्न आग्रह गरिन् ।

प्रतिक्रिया