शनिबार, पुष १२, २०८२

लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

नेपालखोज २०८२ पुष १२ गते १३:३९

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना हुँदैछ । न्युज फेस्टिबलमा ‘मोफसल’को पत्रकारिता, सङ्घीयतामा पत्रकारिता क्षेत्रको संरचना, आर्थिक विकास र लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा पत्रकारिताको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाका विषयमा नेपालमा अग्रज पत्रकार, सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सृजना गरिने भएको छ ।

लुम्बिनी प्रेस क्लब रुपन्देहीले आयोजना गरेको न्युज फेस्टिबल आजदेखि तीन दिनसम्म हुने क्लबका अध्यक्ष कमल रायमाझीले जानकारी दिए । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा आयोजना गरिने कार्यक्रममा पत्रकारिता, लुम्बिनीको पर्यटन प्रवद्र्धन र यस क्षेत्रका मुद्दाहरुलाई राष्ट्रिय–अन्तरराष्ट्रियकरण गर्न फेस्टिबल आयोजना गरिएको अध्यक्ष रायमाझीले बताए ।

कार्यक्रममा भारतको दिल्ली प्रेस क्लब, काशी पत्रकार सङ्घ, बनारस प्रेस क्लब, गोरखपुर प्रेस क्लब, महाराजगञ्ज प्रेस क्लब, सिक्किम प्रेस क्लबबाट पत्रकारहरु आउने क्लबका पूर्वध्यक्ष नरेश केसीले जानकारी दिए ।

साथै प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ, मूलधारका छापा, मूलधारका टेलिभिजनका सम्पादक, मूलधारका अनलाइनका सम्पादक सहभागी हुनेछन् ।

‘सीमापार सम्बन्धः आवश्यकता र सम्भावना’, ‘लुम्बिनीः लगानी र पर्यटनको सामथ्र्य’ र ‘पत्रकारितामा प्रश्नः जिम्मेवारी र जवाफदेहिता’ विषयमा समूहगत छलफल हुनेछ ।

यसले लुम्बिनी क्षेत्रको ब्राण्डिङ गर्नुका साथै लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र सीमापार सम्बन्धलाई अझै मजबुत पार्ने आयोजकको भनाइ छ । प्यानल छलफलमा नेपाल–भारतका चर्चित पत्रकारहरु सहभागी हुनेछन् । क्लबले विसं २०७६ प्रथम लुम्बिनी न्युज फेस्टिबल आयोजना गरेर कार्यक्रम गरेको थियो ।

कोरोना महामारीलगायत कारण यसलाई वार्षिक रुपमा निरन्तरता दिन नसकेपछि विसं २०८० मा भैरहवामा दोस्रो न्युज फेस्टिबल गरेर यसपटक लुम्बिनीमा भव्य रुपमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना गर्न लागिएको हो । -रासस

प्रतिक्रिया