पाँचजना फरार प्रतिवादी पक्राउ

नेपालखोज २०८२ पुष १२ गते १८:२५

दमौली (तनहुँ) । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादी तथा जेनजी आन्दोलनको क्रममा कारागार तोडफोड गरी फरार भएका पाँच जना कैदी तथा थुनुवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट खोजतलास गरी फरार प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादीलाई लगत कट्टा प्रयोजनका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको तथा कैद भुक्तान गर्नुपर्ने कैदीलाई जिल्ला कारागारमा बुझाइएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । पक्राउ पर्नेमा व्यास नगरपालिका–८ बस्ने ५२ वर्षीय शमशेर कुमाल रहेका छन् ।

उनीमाथि जबरर्जस्ती चोरी मुद्दामा जिल्ला अदालतको लगत नं ५८१ अनुसार रु ४७ हजार ८५० जरिवाना तोकिएको थियो । धरौटी तिर्न नसकेपछि निजलाई कारागार चलान गरिएको थियो । त्यसैगरी बन्दीपुर गाउँपालिका–४ का ३४ वर्षीय आशिष कायस्थ लागुऔषध मुद्दामा पक्राउ परेका छन् ।

कायस्थ रु २७ हजार जरिवाना तिरेर छुटेका छन् । घिरिङ गाउँपालिका–१ बस्ने २७ वर्षीया प्रितिमाया थापा बहुविवाह मुद्दामा पक्राउ परेकी छन् ।

उनलाई ११ महिना १३ दिन कैदसहित रु १० हजार जरिवाना तोकिएको छ । निजलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी जेनजी आन्दोलनका क्रममा कारागार तोडफोड गरी फरार भएका म्याग्दे गाउँपालिका–१ बस्ने ४९ वर्षीय सीताराम कामी र शुक्लागण्डकी नगरपालिका–२ बस्ने २२ वर्षीय अनमोल रिमाललाई पक्राउ गरिएको प्रनाउ विकले बताए ।

उनका अनुसार पक्राउ परेका कैदी तथा थुनुवालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि जिल्ला कारागारमा बुझाइएको छ । -रासस

प्रतिक्रिया