संस्थागत निक्षेप लगानीको लागि अफर, बैंकिङ प्रणालीमा पाँच अर्ब ५५ करोड रुपैंयाँ राख्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच अर्ब ५५ करोड रुपैंयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले सोमबार बाँणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो ।
बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त परिमाणको रकम तीन सय ६६ दिने मुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि जनवरी ५, २०२६ देखि जनवरी ५, २०२७ सम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाइनान्स कम्पनीहरुले यही पुस १७ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार लगानीको लागि छुट्याइएको कुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि चार अर्ब ४४ करोड, विकास बैंकहरुको लागि ८३ करोड २५ लाख र फाइनान्स कम्पनीहरुको लागि २७ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ ।
रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई वर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

प्रतिक्रिया