गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
कैलाली । कैलालीको गोदावरी नगरपालिका–७ तिकोलामा रहेको गौशालामा आज ठूलो सङ्ख्यामा गाई परेका भेटिएपछि स्थानीयले व्यवस्थापनका लागि आग्रह गरेका छन् ।
गौशालामा २५ वटा गाई र बाच्छाबाच्छी मरेको भेटिएका हुन् । स्थानीय अगुवा नेता लोकराज पाण्डेले पर्याप्त आहार नपाउँदा र चिसोले कठ्याङ्ग्रिएर गाई मरेको अनुमान रहेको बताए । ‘गौशालामा राखिएका गाईलाई समयमा नै घाँस, दाना तथा उचित व्यवस्थापन गरिएको छैन । यस विषयमा विगतमा पनि कुरा उठेको हो । सयभन्दा बढी गाई भएको गौशालामा एक जना मात्र हेरालु छन्’, उनले भने, ‘हेरचाहको अभावका कारण यस्तो दुःखद अवस्था आएको हो । गौशालामा दैनिक चारदेखि पाँचवटा गाई मरिरहेको अवस्था छ । मरेका गाईको गन्धले त्यहाँ जान सक्ने अवस्थासमेत छैन ।’
पाण्डेले स्थानीय पालिका र सरोकार भएकाहरूलाई गौशाला व्यवस्थापनका लागि आग्रह गरे । पशुकल्याण धनगढीका अध्यक्ष चेतराज अवस्थीले प्रदेश सरकार र स्थानीय प्रशासनले उक्त गौशालामा भएको घटनाको अनुगमन गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गर्नुभयो । उहाँले समस्या पहिचान गरी तत्काल व्यवस्थापनमा लाग्नुपर्ने बताए ।

प्रतिक्रिया