‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भएको सडक भत्कियो, सुधार गर्ने प्रतिबद्धता

म्याग्दी । कालोपत्रे गरेको एक महिना पनि नबित्दै म्याग्दीको एउटा सडक भत्किएपछि सरोकारवाला निकाय र ठेकेदारले फेरि मर्मत गर्ने प्रतिबद्धता जनाएका छन्। ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत करिब २३ करोड ३२ लाख लागतमा बनेको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक महिना दिनमै उप्किएर खाल्डैखाल्डा भएपछि चौतर्फी आलोचना भएको थियो।
सडकको गुणस्तरमा गम्भीर प्रश्न उठेपछि आइतबार जिल्ला समन्वय समितिले सरोकारवालाको बैठक डाकेको थियो। जिससकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको अध्यक्षतामा बसेको बैठकमा सडक डिभिजन कार्यालय बागलुङ र निर्माण व्यवसायीले गल्ती स्वीकार गर्दै सुधार गर्ने बताएका छन्। बैठकले सडक डिभिजन कार्यालयले निर्माण कार्यको गुणस्तर सुनिश्चित गर्नुपर्ने र अहिलेसम्म भएका कामको अनुगमन गरी त्रुटि सच्याउने निर्णय गरेको छ।
उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको साढे चार किलोमिटर सडकमा हालै दोस्रो चरणको कालोपत्रे सकिएको थियो। तर, सडकमा बिछ्याइएको चिप्स (गिटी) अलकत्राले नसमातेपछि कालोपत्रे उप्किएको हो। वडा नम्बर २ का अध्यक्ष यामबहादुर कार्कीका अनुसार सडकको बेसमा भएको धुलोका कारण अलकत्रा राम्रोसँग जम्न नपाउँदा कालोपत्रे भत्किएको हो। यसअघि पुस ४ गतेको सार्वजनिक सुनुवाइमा पनि स्थानीयले सडकको गुणस्तरलाई लिएर चर्को विरोध गरेका थिए।
गजेन्द्र–नयाँबाटो जेभीले ठेक्का लिएको यो सडकमा नौ मिटर फराकिलो बनाएर सात मिटरमा डिबिएसडी प्रविधिको कालोपत्रे गर्ने सम्झौता छ। सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीले चिसोका कारण अलकत्रा जमेको र गर्मी बढेपछि पग्लिएर चिप्स समात्ने दाबी गरे।
यद्यपि, गर्मीयाममा पनि सडकको अवस्था नसुध्रिए ठेकेदारलाई पुनः गुणस्तरअनुसार बनाउन लगाएर मात्र आयोजना बुझ्ने उनले बताए। निर्माण कम्पनीका प्रतिनिधि अरुण सेढाइँले पनि गर्मी बढेपछि बिटुमिन सेट हुने दाबी गर्दै त्यसो नभए सडक मर्मत गरेर मात्र हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया