गृहमन्त्री अर्यालद्वारा सामाजिक सद्भाव र सहअस्तित्वको रक्षा गर्न आग्रह

नेपालखोज २०८२ पुष २१ गते १८:०८

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुग्ने किसिमका घटनाका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले सो घटनाका सन्दर्भलाई लिएर सबै पक्षसँग तत्काल सद्भाव र सहअस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गरेका छन् ।

गृह प्रशासन र सङ्घीय सरकारको तहबाट गरिनुपर्ने सबै किसिमका सुरक्षाका पूर्वतयारी र सजगता अपनाइएको जनाउँदै गृहमन्त्री अर्यालले एउटाको धर्म र सम्प्रदायलाई आज परेको पीडा भोलि आफ्नो समुदायमाथि पनि पर्न सक्ने भएकाले यस घटनालाई निस्तेज गर्न सबैले आ–आफ्नो ठाउँ र तहबाट जिम्मेवारी बोध गरी भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् ।

उनले आज गृह मन्त्रालयमा विभिन्न संवैधानिक आयोगका कार्यवाहक अध्यक्षहरू, सचिव, तथा पदाधिकारीहरूसँग छलफल गर्नुभएको थियो । सो छलफलमा गृहमन्त्री अर्यालले राज्यका संवैधानिक आयोगहरूले यस्तो अवस्थामा एउटा विवेकको संरक्षकको भूमिका निर्वाह गरिदिनसमेत आग्रह गरे ।

उनले हाल मधेस प्रदेश तथा अन्य केही प्रदेशमा देखिन खोजेका साम्प्रदायिकता संयमता, सजगता र सह–अस्तित्वका आधारमा स्थितिलाई सामान्यीकरण गर्न पनि सबैमा अनुरोध गरे । मन्त्री अर्यालले यस्तो अवस्थामा प्रदेश र स्थानीय सरकारहरूले पनि समन्वयात्मक भूमिका निर्वाह गरेर अवस्थालाई सामान्यीकरण गर्नमा महत्वपूर्ण भूमिका रहने बताए ।

सो क्रममा मधेसी आयोगका कार्यवाहक अध्यक्ष जिवछ शाह, मुस्लिम आयोगका कावा अध्यक्ष महामदीन अलि, थारु आयोगका कावा अध्यक्ष सुबोध सिंह थारु, गृहसचिव राजकुमार श्रेष्ठ, राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्की तथा गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्ले र आयोगका अन्य सदस्यहरूको उपस्थिति थियो ।

प्रतिक्रिया