सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्छ : डा शेखर कोइराला

नेपालखोज २०८२ पुष २२ गते १३:२८

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टीका नेताहरूसँग भएको भेटमा उनले विशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर आगामी माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताएका भेटमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुषालले बताए ।

नेता कोइरालाले सबैको भावना सम्बोधन हुनेगरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसका लागि क्रियाशील रहेको बताए ।

नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गर्न नहुनेमा पनि उनले जोड दिए । नेत्री भुसालका अनुसार अधिकांश केन्द्रीय सदस्यले विशेष महाधिवेशनलाई चुनावी घोषणासभाका रूपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए ।

नेता कोइरालालाई भेट्न चिनकाजी श्रेष्ठ, डिला सङ्ग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत केन्द्रीय सदस्यहरू उनको सम्पर्क कार्यालय पुगेका थिए ।

प्रतिक्रिया