चलचित्रकर्मीको हितलाई केन्द्रमा राखी काम गरिरहेका छौं : मन्त्री खरेल

नेपालखोज २०८२ पुष २५ गते १८:३४

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले नेपाली चलचित्रकर्मीको हितलाई केन्द्रमा राखी काम गरिरहेको बताएका छन् ।

आज चाबहिलस्थित चलचित्र विकास बोर्डद्वारा आयोजित ‘चलचित्र क्षेत्रको आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले चलचित्रकर्मीले उठाएका समस्यालाई सक्दो समाधान गर्नेतर्फ आफू र मन्त्रालयले काम गरिरहेको उल्लेख गरे ।

उनले आगामी बन्ने ऐनपश्चात् चलचित्र विकास बोर्ड स्वायत्त निकाय बन्ने जानकारी दिए । चलचित्रकर्मीको मागअनुसार बोर्डको अध्यक्षको कार्यकाल चार वर्षको हुने प्रावधान चलचित्र विधेयकमा राखिएको मन्त्री खरेलले बताए ।

उनले अहिले छलफलमा रहेको चलचित्र विधेयक राष्ट्रियसभाबाट प्रमाणीकरण भएर ऐन बनेपछि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को नाम परिवर्तन भएर प्रमाणीकरण समिति हुने र त्यसको अध्यक्षका रूपमा चलचित्र विज्ञ रहने जानकारी दिए ।

कार्यक्रममा कलाकार सुनिल थापालाई विशिष्ट चलचित्रकर्मीको परिचयपत्र प्रदान गरिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले बोर्डमार्फत चलचित्रकर्मीको समस्या र सुझावलाई मन्त्रालयले मूल्याङ्कलन गरी आवश्यकता अनुसार कार्यन्वयन गर्दै आएको बताए ।

सरकारले चलचित्र प्रशिक्षण केन्द्रको स्थापना गरेर चलचित्रमा लाग्न चाहनेलाई सिक्ने अवसर प्रदान गर्ने उहाँले जानकारी दिए । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीको आवश्यकतालाई मध्यनजर गर्दै बोर्डले प्रशिक्षणलाई लक्षित गर्दै ११ वटा कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिए ।

उक्त कार्यक्रममा बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्ल, निर्देशक आकाश अधिकारी, पुर्नेन्दु झा, लक्ष्मण सुवेदी, कलाकार मोहन निरौला, रवीन्द्रसिंह बानियाँ, नाजिर हुसेनलगायतकाे उपस्थिति थियो । -रासस

प्रतिक्रिया