कक्षा ११ र १२ को ललितकला पाठ्यक्रमबारे छलफल

काठमाडौं । चालु शैक्षिकसत्रदेखि कक्षा ११ र १२ मा पठनपाठन भइरहेको ललितकला पाठ्यक्रमको प्रभावकारिता, महत्व र आवश्यकताबारे आवश्यक छलफल भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा आज ‘ललितकला पाठ्यक्रम’बारे अन्तरक्रिया भएको हो ।
आयोजना गरिएको छ । कार्यक्रममाको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले संयुक्त रूपमा गरे । चालु शैक्षिकसत्रदेखि कक्षा ११ र १२ मा चित्रकला, व्यावहारिक कला, मूर्तिकला तथा कला इतिहास विषय परिमार्जित पाठ्यक्रमअनुसार पठनपाठन भइरहेको सन्दर्भमा ती पाठ्यक्रमबारे सरोकार भएका विद्यालयका अध्यापकबीच अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा ललितकला पाठ्यक्रममा देखिएका समस्या र थप गर्नुपर्ने विषयमा छलफल भएको थियो । प्रतिष्ठानका कुलपति हार्तम्छालीले शिक्षामा कला र संस्कृतिलाई सँगसँगै लैजानुपर्ने बताउँदै ‘कल्चरल भ्यालु’को सीमा पनि जोडिनुपर्ने धारणा राख्नुभयो । उहाँले ललितकलाको विकासका लागि स्थानीयस्तरका भाषा, इतिहास, कलालाई समेट्नुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले ललितकलाको उन्नयनका लागि देशभर स्थापित ललितकलाका शिक्षा अध्ययन गराउने संस्थाबीच छलफल गर्न र पठनपाठन कसरी भइराखेको छ भन्नेबारे जानकारी लिन यस कार्यक्रमले थप सहयोग गर्ने बताए ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कक्षा ११ र १२ मा ललितकला विषय कसरी सहज ढङ्गबाट अध्ययन गराउने र देशैभरि ललितकला शिक्षाको महत्वका विषयमा जागरूक गराउन यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले देशलाई चिनाउन ललितकला महत्त्वपूर्ण रहेको बताए ।
उनले ललितकला क्षेत्रमा नेपाल सरकारले गनुपर्ने कार्यमा यस कार्यक्रमले मार्गदर्शन गर्ने धारणा राख्नुभयो । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका सहसचिव दीनानाथ गौतम, काठमाडौं विश्वविद्यालय आर्ट एण्ड डिजाइन स्कुल अफ आर्टस्का एसोसिएट प्रोफेसर सुजन चित्रकार, सृजना स्कुल अफ फाइन आर्टस्का प्रिन्सिपल डा बालकृष्ण रञ्जित, सहायक प्रिन्सिपल नवीन्द्रमान राजभण्डारी, राधेश्याम मुल्मीको सहभागिता थियो ।
साथै विदुरराज गिरी, शारदामान श्रेष्ठ, काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टस्का पेन्टिङ–एक्टिङ हेड सागर मानन्धर, पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत कमल मिश्र, सहिद शुक्र माविबाट केशवराज खनाल, कालिका मानविज्ञान मावि बुटवलबाट सुमित्रा राना, पञ्चायत माध्यमिक विद्यालयबाट सञ्जु थापामगर, वागीश्वरी मावि, भक्तपुरबाट सम्बिका बासुकलासँगै विजेश्वरी मावि काठमाडौं, नोबेल एकेडेमी नयाँबानेश्वर, पिनाकल एकेडेमी ललितपुरलगायत प्रनिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया