राष्ट्रिय एकता दिवस एवं ३०४औं पृथ्वीनारायण शाहको जन्मजयन्तीको शुभकामना : सूनील उलक

नेपालखोज २०८२ पुष २७ गते ९:५६

सूनील उलक । तीन शताव्दी अगाडि जब नेपालमा पृथ्वीनारायण शाहको जन्म भएको थियो त्यसको ५ महिना पछि विश्व विख्यात राजनीतिक अर्थशास्त्री एडम स्मिथको जन्म भएको थियो । पृथ्वीनारायणले जब बाबुसंग राजनीति सिक्दैं कुटनैतिक प्रयास स्वरुप भक्तपुरका

युवराजसँग मितेरी गाँस्दै थिए, एडम स्मिथ भने ग्लास्गो यूनिवर्सिटीमा प्रोफेसर भइसकेका थिए । केही वर्ष अगाडिबाट बेलायत सरकारले बेलायती २० पाउण्डको नोटमा उनको तस्विर राखेर सम्मान गरेको छ । तर हाम्रो देश नेपालमा पृथ्वीनारायण शाह जसले साना साना टुक्रे राज्यलाई एक गरेर सिंगो नेपाल बनाए, उनको सम्मानमा कागजी नोटमा तस्विर राख्न चाहेन । झन उल्टो पृथ्वीनारायणलाई हत्याराको संज्ञा दिने केही अल्पज्ञानीहरुको बाहुल्य बढेको पाइन्छ ।

पृथ्वीनारायण शाहको समय कालमा स्वतन्त्र राष्ट्रको रुपमा अमेरिकाको जन्म भएकै थिएन । जुन बेला पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमणको तैयारी गर्दै थिए । त्यति बेला जर्ज वाशिंगटनको नेतृत्वमा अमेरिका स्वतन्त्रताको लडाइ लड्दै थिए । त्यस अगाडि फ्रान्सेली तथा बेलायती साम्राज्यको खेलमा अमेरिका टुक्रा टुक्रा भएको थियो । पृथ्वीनारायण शाहको मृत्युको समय तिर जर्ज वाशिंगटनले पहिलो सफलता हासिल गर्दै फिलाडेल्फियामा बसेर संयुक्त राष्ट्रको घोषणा गरेका थिए । अमेरिका स्वतन्त्र भएर जर्ज वाशिंगटन पहिलो राष्ट्रपति बन्दा सम्म त नेपालको एकिकरण अभियानमा अधिराजकुमार बहादुर शाह अगाडि बढेर बिशाल नेपाल बनाइसकेका थिए ।

तीन सय वर्षको अवधीमा अमेरिका विश्वको प्रमुख राष्ट्रमा पुग्न सफल भयो तर हामी अझै एक अर्कालाई गाली गर्दै र एक अर्काको खुट्टा तान्दै आनन्दित भइरहेका छौ । हाम्रो इतिहास कति पुरानो छ । हाम्रो संस्कृति कति बलियो छ । हाम्रो संस्कार कति गहन छ । तर हामी कुवाको भ्यागुतो झै माथि कसैलाई पुग्न नै दिदैनौ, तानेर खसाली हाल्छौ । यो केवल राजनीतिमा मात्र होइन । यो सबै ठाउँमा लागु भइरहेको छ । आफू अगाडि बढ्न सबैको साथ होइन हामी अरुको पतनलाई सर्वस्विकार्य मान्दछौ । अरुलाई खसाल्न पाए त्यहाँ म पुग्थे भन्ने मानसिकतामा ग्रसित छौ । जसले गर्दा आज कसैलाई तल खसाल्न तल्लिन हामी, भोली हामीलाई तल खसाल्न अर्को तैयार भएर बसेको हुन्छ । आज पृथ्वीनारायणलाई गाली गरेर जनजातिहरुको एकता गर्दै अर्को पृथ्वीनारायण बन्ने धृष्टता गर्दै गरेको देखिन्छ ।

मल्लकालका समृद्धीलाई बिर्सिएर उपत्यकाका नेवारलाई गाली गर्न थाल्यौ । राणाकालका बैदेशिक नीति र बिकासका खाकाहरुलाई बिर्सिएर राणाका मोज र महललाई मात्र देख्यौ । तर अहिले चन्द्रशमेशरले बनाएको सिंहदरवारमा बसेर देश हाँक्दैछौ र कृष्णशम्शेरले सित्तैमा दिएर गएको शितल निवासमा राष्ट्रपतिलाई राखेर देशको अस्तित्वको खाका बुन्दैछौ । पृथ्वीनारायण शाहको एकिकरणले नेपाली हुन पाएको बिर्सिएर शाहकालिन इतिहासलाई गालि गर्न छोड्दैनौ । लडाइमा एक पक्षको हार हुन्छ अर्को पक्षको जित हुन्छ । जित्नेको इतिहास लेखिन्छ । हार्नेलाई बिर्सन थाल्दछौ । इतिहास पल्टाएर हेर्यौ भने पृथ्वीनारायण शाहको एकिकरण अभियानमा हजारौको मृत्यु भयो । तर एक सिङ्गो नेपालको रुपमा आज नेपाली हुन पायौ । अन्यथा बाइसे चौबिसेको अस्तित्व बेलायती साम्राज्य भित्र बिलाउने थियो ।

शाहवंशका सबै राजा राम्रा थिए भनेर कसैले पनि मानेका छैनन् । हाम्रो परिवार भित्र पनि कहिले एकदुइ पटमुर्ख निस्कन्छन् । हाम्रा टोलछिमेकमा पनि एकदुइ पटमुर्ख हुने गर्दछ । हामी टोलका सबैलाई गाली गर्दैनौं । त्यस्तै सबै शाह राजालाई गाली गर्नु पनि मनासिव हुदैन । केही शाह राजाहरु सिरफिरा थिए । केही राष्ट्र प्रेमि थिए । पृथ्वीनारायण शाह आफैले पनि आफ्नो जेठा छोरा राजा हुन योग्य नभएको भन्ने आभास पाएका थिए । तर पनि कान्छो छोरा बहादुर शाहलाई युवराज घोषणा गर्ने आँट गर्न सकेनन् । जसले गर्दा उनको मृत्यु पछि राजा बनेका प्रतापसिंह शाहको राजकाज गतिशिल हुन सकेन । यस्तैमा केवल २६ वर्षकै उमेरमा क्षयरोगबाट उनको मृत्यु भयो । यसपछि राज्यको बागडोर राजेन्द्रलक्ष्मीले सम्हालिन ।

बालक राजा बनेका रणबहादुरको हक लिइ झन राजेन्द्रलक्ष्मीले सम्हाल्नु राजकुमार बहादुर शाह दाजुको समयमा नै निर्वासनमा पर्नुले संकट चर्किएको थियो । अर्को तर्फ राज्य बिस्तारको पृथ्वीनारायणको सपना चकनाचुर हुने देखि पृथ्वीनारायणको छोरी सल्यानी रानी बिलासकुमारीले भाइ बहादुर शाहलाई बोलाइ गोरखा राज्य बिस्तारलाई निरन्तरता दिन लगाएका थिए । तर यहाँ राज्य नै बहादुर शाहका हातमा जाने डरले राजेन्द्र लक्ष्मीले देवर बहादुर शाहलाई कैद गराए । तर पछि राजा बनेका रणबहादुुर शाह झन निकम्मा भए ।

आखिर जे जसरी हामीले सोचे पनि नेपाल भन्ने सिंगो राज्यको परिकल्पना गर्ने र एकिकरण गरेर हामीलाई नेपाली बनाउने पृथ्वीनारायण शाह नै हुन् । देशले उनको योगदाको कदर गर्नै पर्छ । पृथ्वीनारायण शाहलाई केही बुद्धिजीवि भनाउँदाहरुले अधिनायकवादी भनिए पनि वा नरसंहारकारी भनेर परिचय दिने गरे पनि हाम्रो अस्तित्व जोगाइदिएको पृथ्वीनारायण शाहले नै हो । आज सिङ्गो एक राष्ट्र नेपालका जनता हुन पाएका छौ वा भनौ वीर गोर्खाली भएर गर्वित हुन पाएका छौ ।

पृथ्वीनारायण शाह वास्तवमा कस्ता थिए भन्ने उनको तस्विर भेटिदैन । तर उनि जीवित हुँदै बनाइएको मुर्ति नुवाकोटमा छ । पृथ्वीनारायण शाह आफैले बनाउन लगाएको यस कालो ढुङ्गाको मुर्ति बि.सं. १८१६ तिर बनाउन लगाएको अनुमान गरिएको छ । अन्दाजी ३७ वर्ष उमेर हुँदा बनाइएको यो मुर्तिमा पृथ्वीनारायण शाह नम्र रुपमा दुइ आँखा बन्द गरेर, दुइ हात जोडेर, घुँडा टेकेर भक्तिभावले कसैको सामु प्रार्थना गरिरहेको जस्तो लाग्दछ । उनको जुंगा हेर्दा कुनै सेनापतिको आभास हुन्छ । उनको बाँया हातको अनामिका औलामा एक औंठी बाहेक शरिरमा कुनै पनि गहना लगाएको देखिदैन । जसले गर्दा उनको जीवन सादा रूपमा बिताउने गरेको प्रमाणित हुन्छ । शिरमा बिचमा चिरा परेको तथा किनारामा फूलबुट्टा भएको टोपी लगाएका छन् ।

शरिरमा ठूलो तना भएको लवेदा लगाइएको देखिन्छ । त्यसमाथि पटुका बाँधेका छन् । झल्लरी युक्त यो पटुकाका दुबै टुप्पा भने अगाडि लत्रिएको छ । यो मुर्ति कीर्तिपुरसंगको पहिलो आक्रमणको हार र सेनापति कालु पाण्डेको मृत्युले दुखित भए पछि युद्ध त्यागेर गोर्खामा बसिरहेको बेलामा बनाइएको थियो । शायद नयाँ युद्धको तैयारीका लागि सैनिक अभ्यासका साथ साथै देवी भक्तिको पनि श्रृंखला शुरु भएको हुनुपर्दछ । यसरी देवी भक्तिबाट साहस बटुलेर १८१६ मा शिवपुरी काभ्रे विजय गरे भने १८२० मा मकवानपुर विजय गरेका थिए ।

यो मुर्ति त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल र एशियाली अध्ययन संस्थानले २०३०-३१ सालतिर गौतमवज्र वज्राचार्यलाई हनुमानढोका सम्बन्धी बिस्तृत प्रतिवेदन तैयार बनाउन लगाउँदा भेटिएको थियो । यस अगाडि बन्द कोठामा रहेको यो मुर्ति गौतमवज्रले हनुमानढोकाको मूलचोकमा रहेको छिँडीको भण्डारकोठामा भेटेका थिए । मूलचोकको पश्चिम लङमा दलानसंगै दाँया नुवाकोटको भगवतीको भण्डारकोठामा तीनवटा मूर्ति भेटेका थिए । पछि अध्ययन गर्दा ति मुर्तिहरूमा एक पुरूषको पृथ्वीनारायणको र दुइ महिलाहरूकोमा उनकै दुइ रानी इन्द्रकुमारी र नरेन्द्रलक्ष्मीको रहेको पत्ता लागेको थियो ।

यो मुर्ति नुवाकोट दरवारमा नै बनाउन लगाइएको तथा पछि भगवतीलाई हनुमानढोकामा स्थापना गरेसंगै यो मूर्ति पनि हनुमानढोकामा राखिएको थियो । भगवतीको पूजा नित्य रूपमा पृथ्वीनारायण शाहले नै गर्दथे । पछि वहाँको देहावसान पछि पूजारीले गर्न थाले पनि पूजा समाप्ति पछि पृथ्वीनारायण शाहको यस मुर्तिमा पूजारीले टीका लगाइदिने गर्दथे । हाल यो मुर्ति नुवाकोटमा नै राखिएको छ ।

अर्को चित्र भने गढवाली चित्रकार मौलारामले कोरिदिएका थिए । तर यो चित्रमा उनको मुहारको वास्तविक आकृति भन्दा पनि बढि मुगलशैली देखिन्छ । नुवाकोट दरवारमा भएको मुर्तिमा भने उनको अनुहार केही भिन्न देखिन्छ । आखिर को हुन् त मौलाराम र किन मौलारामले पृथ्वीनारायणको चित्र कोरे । मुगल शासक शाहजहाँको शासनकाल (सन १६२८-१६५८) जुनबेला दिल्ली तथा आगरामा थियो । त्यसबेला पृथ्वीनारायण शाहका बुढा जिजुबाजे रामशाहको शासनकाल (सन १६०६-१६३३) करिव करिव अन्तिम समय थियो । त्यसपछि गोर्खामा राजाहरुको छोटो शासनकालहरु भेटिन्छ । जसमा डम्बर शाह, कृष्ण शाह र रुद्र शाहको समयकालसम्म पनि शाहजहाँ मुगल सम्राट नै थिए ।

जुनबेला आगरामा ताजमहल बन्दै थियो, गोरखामा डम्बर शाह र कृष्ण शाहको शासनकाल चलिरहेको थियो । यिनै शाहजहाँको मृत्यु पछि राजा बनेका उनका छोरा औरंगजेबको समयमा दिल्ली दरवारबाट भागेर तीन चित्रकार गढवाल पुगेका थिए । यसरी मुगल साम्राज्यबाट भागेर गढवाल पुगेका हरदासको नाति नै मौलाराम हुन् । मौलारामलाई अहिले विश्वविख्यात भएको गढवाली चित्रकारिताको जन्मदाता मानिन्छ । यिनै मौलारामले कोरेको पृथ्वीनारायण शाहको चित्रमा पनि केही गन्ध गढवाली शैलीको आएको देखिन्छ । त्यतिबेलाका चित्रकारितामा दुइ शैली प्रख्यात थिए कांगडा शैली र गढवाली शैली । कांगडा शैलीमा अनुहारको आकारमा निधार देखि नाकसम्म सिधा धर्सो हुन्थ्यो भने चिउडोबाट घाँटीसम्म पनि सिधा धर्सो तानिन्थ्यो । जसले गर्दा अनुहार चारपाटे देखिन्थ्यो । तर गढवालीशैलीमा भने निधारबाट नाकसम्ममा बिचमा केही गहिराइ हुन्थ्यो । साथै चिउडोबाट गलामा पनि केही घुमाउरो हुन्थ्यो ।

चित्रमा देखिने हातमा फूल लिने तथा बसाइशैली भने मुगलशैली थियो । शिरमा लगाइएको श्रीपेच भने शाह राजाको श्रीपेच नै थियो । यो चित्र गढवाली चित्रकार मौलारामले कोरेको स्पष्ट देख्न सकिन्छ । मौलारामको जन्म बि.सं. १८०० मा भएको थियो । गढवालमा चौतरिया हस्ती दल थापा गवर्नर थिए । हस्ति दलको युद्धमा मृत्यु भए पछि भैरों थापा गोर्खाली गर्वनरका रुपमा बि.सं. १८६५ मा गढवाल पुगेका थिए । उनको चर्चा क्रुर प्रशासकका रुपमा गढवाली सामु रहन गयो । गढवाली जनता माथि अत्यधिक अनावश्यक करहरु पनि थोपरिएको थियो ।

यो सबबाट दुखी भएका मौलारामले नेपालमा मुख्तियार भीमसेन थापालाई पत्र पठाएर जानकारी गराएका थिए । मौलारामले गढवाल सरकारबाट पाइरहेको सुविधा तथा जागीर पनि भैरों थापाले खोसेका थिए । यसरी पिडा झेलेका मौलाराम त्यहि समय काठमाडौ पुगेका थिए । भीमसेन थापाले उनको जागीर तथा रोकिएको तलव तथा भत्ता फिर्ता दिलाउने निर्णय गरेका थिए । काठमाडौमा राजा गिर्वाणको शासनकाल थियो । राजा गिर्वाणसंग मौलारामको भेट भएको थियो वा थिएन भन्ने उल्लेख कतै भेटिदैन । तर मुख्तियार भीमसेन थापाले उनको जागीर फिर्ता गर्ने निर्णय गरेका थिए । यसरी भीमसेन थापाबाट जागीर फिर्ता पाएका मौलारामले काठमाडौ आउँदा बि.सं. १८६६ तिर पृथ्वीनारायण शाहको चित्र कोरेको हुनुपर्दछ ।

बि.सं. १८६६ मा मुख्तियार भीमसेन थापाले गोर्खाली सेनाको कमाण्डर काजी बख्तावर सिंह बस्न्यातलाई गढवालका गवर्नर बनाएर गढवाल पठाएका थिए । काजी बख्तावर सिंहले श्रीनगरमा मौलारामलाई भेटेर पुरस्कृत गरेका थिए । यसका साथै बख्तावर सिंहले उनको जागीर फिर्ता गराउनुका साथै ६१ स्वर्ण मुद्रा, एक घोडा, एक राजकीय वस्त्र, तथा केही हतियार पनि दिएका थिए । यसरी खुशी भएका मौलारामले काजी बख्तावर सिंहको प्रशंसा गर्दै “बख्तावर यश चन्द्रिका” नामक काव्य लेखेर गोर्खालीको गढवाल विजयको इतिहास वर्णन गरेका थिए । साथै राजा रणबहादुर शाहको विषयमा रणबहादुर चन्द्रिका पनि लेखेका थिए । यसरी गोर्खालीको प्रशंसा गरेका मौलारामले एकिकरणका नायक पृथ्वीनारायण शाहको चित्र कोरेको मान्न सकिन्छ ।

पछि यहि चित्रको आधारमा राजा महेन्द्रको शासनकालमा बि.सं. २०२५ सालमा नेपाली चित्रकार केके कर्माचार्यले फूलको ठाउँमा दाहिने हातको चोर औलालाई सिधा ठड्याएर एकताको प्रतिक चित्र बनाए । जुन चित्र हुलाक टिकटमा प्रयोग भएको थियो । नेपाल एकिकरणको जनकको रुपमा औला ठड्याइएको तस्विर नै अहिले सर्वत्र देखिन्छ । राजा महेन्द्रको शासनकालमा नै अमर चित्रकारलाई नेपालका राजाहरुको चित्र कोर्ने जिम्मा लगाइयो । यसरी चित्र कोर्ने क्रममा अमर चित्रकारले बालकृष्ण समको सरसल्लाहमा आज बिभिन्न मुर्ति तथा चित्रमा देखिने उभिएका पृथ्वीनारायण शाहको तस्विर कोरेका थिए ।

प्रतिक्रिया