नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रियमुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच आज औपचारिक रूपमा पार्टी समायोजन भएको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच दुवै पार्टीबीच समायोजनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।
सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का वरिष्ठ उपाध्यक्ष सुमन सायमीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले राष्ट्रिय मुक्ति पार्टी नेपालसँगको समायोजनले विशेषगरी काठमाडौँ उपत्यकाका नागरिकका समस्या समाधानमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।
उनले काठमाडौंमा सुकुम्बासी, खोला किनारका पीडित, अव्यवस्थित बसोबास तथा सामाजिक–आर्थिक समस्याबाट ग्रसित नागरिकको पक्षमा सङ्घर्ष गर्दै आएका नेता पार्टीमा समाहित हुनु सकारात्मक सङ्केत भएको बताए । उनले भए, ‘काठमाडौँका सुकुम्बासी, खोला किनाराका पीडितलगायत थुप्रै नागरिकका समस्या समाधानका लागि अग्रसर रहेका नेता र हाम्रो पार्टीबीच समायोजन भएको छ । अब हामी सङ्गठित रूपमा यहाँका नागरिकका समस्या समाधान गर्न सक्षम हुनेछौँ । उपत्यकामा हाम्रो पार्टीलाई एक नम्बरको पार्टी बनाउने लक्ष्यसहित अघि बढ्नेछौँ ।’
संयोजक दाहालले काठमाडौँको मौलिक संस्कृति, रीतिरिवाज र पहिचानमाथि हुने कुनै पनि प्रकारका हस्तक्षेपविरुद्ध राष्ट्रिय मुक्ति पार्टी नेपालका नेतासँग सहकार्य गर्दै सङ्घर्ष अघि बढाइने स्पष्ट पारे । उनले स्थानीय समुदायको भावना र ऐतिहासिक पहिचानको संरक्षण पार्टीको प्राथमिकतामा रहने पनि उल्लेख गरे ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित गर्नु अहिलेको प्रमुख चुनौती भएको बताए । उनले विगतका एकता प्रक्रियाबाट प्राप्त अनुभवलाई आत्मसात् गर्दै सामूहिक नेतृत्व र विचारको आधारमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
त्यसैगरी राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का वरिष्ठ उपाध्यक्ष सुमन सायमीले विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितलाई केन्द्रमा राखेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताए । उनले भावनात्मक निर्णय, भीडको दवाव वा क्षणिक स्टन्टभन्दामाथि उठेर आफूहरूले राजनीतिक निर्णय गरेको स्पष्ट पारे ।
उनले भने, ‘हामी भावना, भीड वा स्टन्टका आधारमा होइन, विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितका आधारमा यहाँ आएका हौँ । जनताको मुक्ति हाम्रो मूल चाहना हो र त्यो लक्ष्य कम्युनिष्ट पार्टीमार्फत मात्रै पूरा हुनसक्छ भन्ने विश्वासका साथ हामी यो समायोजनमा सहभागी भएका हौँ ।’
कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेता बामदेव गौतम, राजेन्द्र श्रेष्ठलगायत राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले यो समायोजनले बामपन्थी आन्दोलनलाई थप सशक्त बनाउने र जनमुखी राजनीतिलाई नयाँ गति दिने अपेक्षा लिएका छन् ।

प्रतिक्रिया