शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अनुरोध गरेका छन् ।
बाग्लुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले आज विद्यालय परिसरमा आयोजना गरेको हीरक महोत्सवमा उनले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्ने बताएका सचिवालयले जनाएको छ ।
‘हामीले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीले शासनमा बसेकाहरूबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको जनचाहना पूरा हुनुपर्छ । यो हामीले बिर्सन हुन्न’, राष्ट्रपतिले भने ।
जनताको हित र सेवालाई केन्द्रमा राखेर सुशासनको माध्यमबाट भ्रष्टाचार, ढिलासुस्ती, विकृतिको अन्त्य गरी विकासको गतिलाई तिव्रता दिनु आजको आवश्यकता भएको बताउँदै राष्ट्रपतिले परिवर्तित सन्दर्भमा नवपुस्ता र जनचाहनाअनुसार मुलुकलाई निकास दिने अहिलेको सर्वोत्तम उपाय निर्वाचन हो भने । राष्ट्रपति पौडेलले मुलुकलाई राजनीतिको दुष्चक्रमा पर्न नदिन आपसी समझदारी, समवन्य र सहकार्यबाटै निर्वाचनको महायज्ञलाई सफल पार्न आग्रह गरे ।
राष्ट्रपति पौडेलले बदलिँदो विश्वमा गुणस्तरीय, प्रविधिमैत्री र मूल्यमा आधारित शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै विद्यालयहरूले ज्ञानसँगै नैतिकता, सीप र संस्कार सिकाउनुपर्नेमा जोड दिने ।

प्रतिक्रिया