पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नेपालखोज २०८२ माघ ४ गते १९:२८

नारायणगढ (चितवन) । अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका लागि सौराहामा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विभागले गत पुस १७ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा उक्त प्रणालीको शुभारम्भ गरिसकेको छ ।

राजधानीबाहिर पहिलोपटक पर्यटकीय नगरी सौराहामा प्रणाली लागू गर्नका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ । दोस्रो चरणमा आगामी फागुन १७ गतेदेखि उपत्यका बाहिरका होटल, एयरलाइन्स, होमस्टे, ट्रेकिङ कम्पनी, टुर तथा ट्राभल कम्पनी, मनी एक्सचेन्ज कम्पनीलगायत अन्य पर्यटकीय सेवा प्रदायक संस्थाहरूमा अनिवार्य रूपमा उक्त प्रणाली लागू गर्ने तयारी थालिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण तथा पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले यो प्रणाली लागू गरिएको उनले बताए । महानिर्देशक तिवारीले भने, ‘यस प्रणालीमा विदेशी नागरिकको नेपाल आगमनपछिको सम्पूर्ण अभिलेख रहनेछ । काठमाडौँ बाहिर सौराहमा पहिलोपटक पर्यटन सेवा प्रदायक संस्थाहरूसँग अन्तरक्रिया गरिएको हो । अध्यागमनको मुख्य काम भनेको सीमाको सुरक्षा र नियमन हो ।’

उनका अनुसार सीमा नियमन भनेको कुनै पनि देशको सार्वभौम क्षेत्रभित्र हुने आवतजावत, गतिविधि तथा कानुनी व्यवस्थाको प्रभावकारी नियन्त्रण हो । सीमा सुरक्षा केवल दुई देशबीचको सीमास्तम्भमा मात्र सीमित नभई डिजिटल माध्यम, कानुन उल्लङ्घन तथा देशभित्र हुने अवैध गतिविधिसँग जोडिएको विषयसमेत हो ।

महानिर्देशक तिवारीले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका तारे होटलमा प्रणाली लागू गरी त्यसपछि देशका प्रमुख पर्यटकीय क्षेत्रमा सरोकार भएकाहरूसँगको समन्वयमा क्रमशः कार्यान्वयन गरिने योजना रहेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विभागले व्यवसायीमैत्री ढङ्गले काम गर्दै कार्यान्वयनका क्रममा देखिएका द्विविधा र प्रक्रियागत समस्याहरू समाधान गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीले यस्तो प्रणालीको कार्यान्वयनले दिगो पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउँदै कार्यान्वयन गर्दा झन्झटिलो नभई सहज रूपमा समन्वय गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे, उद्योग सङ्घ चितवनका अध्यक्ष मदन घिमिरे, गृह मन्त्रालयका उपसचिव परशुराम पोखरेल, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, पर्यटक कार्यालय चितवनका प्रमुख प्रेमप्रसाद ढकाल, रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर गिरीलगायत सौराहा तथा चितवन–नवलपुरका होटल तथा पर्यटन व्यवसायीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया