चितवन राष्ट्रिय निकुञ्जले उच्च सतर्कता बढायो

नेपालखोज २०८२ माघ ६ गते १०:१२

चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ को मिति नजिकिँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारी हुनसक्ने जनाउँदै उच्च सतर्कता बढाएको छ । निर्वाचनका समयमा नयाँ मानिसहरूको आवतजावत बढ्ने र चोरी सिकारी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले स्थानीय, सरोकारवाला निकायहरूसँगको सहकार्यमा सुरक्षा व्यवस्था मिलाइएको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज प्रशासनले आन्तरिक तथा बाह्य सुरक्षाको व्यवस्था गरेको छ ।

निर्वाचन लागेपछि चोरी सिकारीको खतरा बढ्ने भएकाले निकुञ्जले त्यहीअनुसार व्यवस्थापन गरेको उनले बताए । निकुञ्ज क्षेत्रको कोर इलाकाभित्र र मध्यवर्ती एवं आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाइएको छ । उनका अनुसार चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी तथा कर्मचारी र स्थानीयलाई निर्वाचनको समयमा सजग हुन आग्रह गरिएको छ ।

उनले भने, ‘प्रतिनिधिसभा निर्वाचनको समयमा निकुञ्ज सुरक्षाका लागि हामी तयार छौँ ।’ निकुञ्जभित्र र आसपासका क्षेत्रमा गस्ती बढाउने, एम्बुसिङ, स्विमिङलगायत कामलाई निरन्तर कायम राखिने छ । ९५२.६३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्जमा २२ वटा मध्यवर्ती उपभोक्ता समिति छन् ।

निकुञ्जभित्र स्थायी ५७ वटा र अस्थायी तीनवटा पोष्ट छन् । उनले भने, ‘सबै पोष्टलाई उच्च सतर्कमा रहन भनिएको छ । कर्मचारी पनि सोहीअनुसार परिचालन गरिएको छ ।’

पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष साजनकुमार महतो निर्वाचन नजिकिएसँगै उपभोक्ता समितिले पनि उच्च सतर्कता अपनाएको बताउँछन् । निर्वाचनको समयमा नकारात्मक सोच राखेका व्यक्ति सलवलाउन सक्ने भएकाले सबै उपभोक्तासहितले आ–आफ्नो ठाउँबाट चनाखो भएर काम गरेको उनले बताए ।

प्रतिक्रिया