जोमसोमका पानीघट्ट स्तरोन्नति

मुस्ताङ। यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोममा वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नति गरिएको छ। यहाँका महिलाहरूको नेतृत्व विकास गर्दै आदिवासी तथा परम्परागत प्रविधिको संरक्षण गरी जलवायु समानुकूलित गराउने उद्देश्यले यहाँका जीर्ण पानीघट्ट र भौतिक संरचना पुनर्निर्माण गरिएको हो ।
क्यानेडाली सरकार (सिएफएलआई) को आर्थिक सहयोगमा अन्तरराष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल (आइसीयुएन) ले यहाँस्थित पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नति योजना कार्यान्वयनमा ल्याएको हो ।
यसका लागि घरपझोङ गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र जोमसोम महिला समूहको सहकार्यमा स्थानीय महिला समूहले परम्परागत प्रयोगविहीन पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नति गरेको अन्तरराष्ट्रिय प्रकृति संरक्षण कोष नेपालका कार्यक्रम निर्देशक युवराज गुरागाईँले जानकारी दिए ।
निर्देशक गुरागाईँका अनुसार जोमसोमका जीर्ण पानीघट्ट मर्मतसम्भार तथा स्तरोन्नतिका लागि स्थानीय महिला उपभोक्ता समितिमार्फत कार्यान्वयन हुनेगरी रु नौ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको बताए।
सदियौँ वर्ष पहिले पुर्खाहरूले निर्माण गरेका परम्परागत पानीघट्ट यहाँको प्राचीन संस्कृति र ऐतिहासिक धरोहर भएकाले यस प्रकारका प्रविधिलाई कालान्तरसम्म जोगाएर राख्नुपर्ने जोमसोम महिला समूहकी अध्यक्ष भुवन शेरचनले बताए। आधुनिक प्रविधि युगमा मानिसहरू छिटोछरितो रूपमा काम गर्न चाहने भए पनि यहाँको पानीघट्टको मौलिक र विशिष्ट पहिचान रहेको अध्यक्ष शेरचनले बताए ।
समूहकी अध्यक्ष शेरचनले विकास र पूर्वाधार निर्माण ठूलो नभई संरक्षण र संवर्वद्धनको पाटो महत्त्वपूर्ण भएकाले पानीघट्टको इतिहासलाई जीवित राख्नुपर्ने आवश्यकता रहेको औँल्याए। प्रयोगविहीन अवस्थाका पानीघट्ट मर्मत तथा स्तरोन्नतिले जोमसोमका करिब दुई सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुने घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थकालीले बताए।
तत्कालीन समयमा यहाँ विद्युतीय सुविधा र आधुनिक उपकरणको प्रयोग नहुँदा पुर्खाहरूले पानीघट्टमा अन्नबाली पिसेर खाने गरेका थिए । यहाँ दातृ निकायको सहयोगबाट जोमसोम पानीघट्टको पुरानो भौतिक संरचना पुनर्निर्माण, घट्टका लागि पानी सञ्जय गर्ने ड्याम निर्माण र घट्टका लागि चाहिने आवश्यक उपरकणको व्यवस्थापन गरिएको समिति अध्यक्ष थकालीले बताए।
घट्टमा पिसेको पीठो स्वादिलो, पोषिलो र लामो समयसम्म टिकाउ हुने भएकाले निकै उपयोगी मानिएको छ । घट्ट मर्मत तथा स्तरोन्नतिसँगै यहाँका नागरिकले उवा, जौँ, फापर, मकै, गहुँ र फापरको सुकेको पात (ढाप्रा) लगायत परम्परागत बाली पिसेर पीठो बनाउन प्रचलन छ ।
पछिल्लो समय प्रविधिको विकाससँगै यहाँका पानीघट्ट लोपोन्मुख अवस्थामा रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए। मुस्ताङका अधिकांश स्थानमा पानीघट्ट संस्कृति हराउँदै गइरहेको अवस्थामा एक्यापलगायत सङ्घसंस्थाले पानीघट्ट संस्कृति जोगाउन काम गरिरहेको प्रमुख गुप्ताको भनाइ छ । घट्ट संरक्षणले स्थानीय किसानलाई राहत पुगेको र यसले संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया