राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान सुरु

काठमाडौं । राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ ।
यसका लागि बिहान ९ः०० बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान आज दिउँसो ३ः०० बजेसम्म जारी रहने आयोगका प्रवक्ता नरायणप्रसाद भट्टराईले जानकारी दिए ।
रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो । बाँकी १७ पदका लागि आज निर्वाचन हुनलागेको हो । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।
बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएको मतदानस्थल तथा मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान सुरु भएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सुरु भएको उहाँले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।
प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ । मतदानस्थलमा ती मतदाताले मतदान गरिराखेका छन् ।

प्रतिक्रिया