अनशनरत सोडारीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण

नेपालखोज २०८२ माघ १४ गते १८:०९

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहनुभएका अजय सोडारीको स्वास्थ्य कमजोर बन्दै गएकाले जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

जेनजी आन्दोलनका बन्दी रिहा गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारलगायतका विभिन्न माग राखी विगत नौ दिनदेखि काठमाडौंको माइतीघरमा सोडारी आमरण अनशनमा बसेका हुन् ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अनशनरत व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र निजको जीवन रक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।’

आयोगले यही माघ १३ गते अनुगमन गरेको र अनुगमनका क्रममा अनशनरत सोडारीको स्वास्थ्य परीक्षणमा खटिएका चिकित्सकसँग आयोगले स्वास्थ्य अवस्थासम्बन्धमा जानकारी लिएको जनाएको छ ।

सोडारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको, रक्तचाप र ‘पल्स रेट’ कम रहेकाले ‘स्लाइन’ दिइरहेको अनुगमनबाट पाइएको आयोगको भनाइ छ । —

प्रतिक्रिया