ट्रान्सजेन्डर यौन श्रमिक भन्छन् : हाम्रा मुद्दा उठाउनेलाई मत दिन्छौँ

नेपालखोज २०८२ माघ १६ गते १९:३५

काठमाडाैं । ट्रान्सजेन्डर यौन श्रमिक समुदायले आफ्ना भावनाअनुरूप मुद्दा उठान गर्ने राजनीतिक दल र उम्मेदवारलाई मतदानको प्राथमिकतामा राख्ने बताएका छन् ।

काठमाडौँमा आज मायाको संसार नामक संस्थाद्वारा आयोजित आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित ‘नीति शक्ति र प्रतिनिधित्वः ट्रान्सजेन्डर यौन श्रमिकहरूको राजनीतिक अस्तित्वदेखि नेतृत्वसम्म’ विषयमा गरिएको कार्यशालाका सहभागीहरूले राजनीतिक दलले आफ्नो समुदायका मुद्दालाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

आगामी निर्वाचनमा सहभागिता किन र कसरी जनाउने ? विषयमा बिहीबार र शुक्रबार दुईदिने कार्यशाला आयोजना गरिएको थियो । कार्यक्रमका सहभागी आभा क्षेत्रीले आफ्नो समुदायले राजनीतिक विषयमा चासो राख्नुपर्ने र आफ्ना मुद्दाबारे राजनीतिक दलले राखेको प्राथमिकता हेरेर आफूले सहमति जनाउने बताए ।

‘राजनीति आफैंमा नराम्रो होइन रहेछ, तर मत दिँदा हाम्रा कुरा परेका छन् या छैनन् त्यो भने हेर्छौँ’, उनले भने । मायाको संसारका अध्यक्ष सुनिता लामाले सङ्कुचित सामाजिक परिवेशका कारण लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई हेर्ने दृष्टिकोण साँघुरो भएकाले निर्वाचनमा खुलेर मत हाल्ने वातावरण अझै नरहेको बताए ।

उनले पहिचान नखुलेकै कारण कतिपयको नागरिकताको समस्या रहेको र मतदाता परिचयपत्र नरहेको बताए । गाउँमा मत हाल्न जाँदा समाजले हेयको भावले हेर्ने डरले कतिपय मतदाता निर्वाचनमा घर फर्किन कठिनाइ झेल्नुपरेको उहाँको भनाइ छ । प्रशिक्षणमा बागमतीलगायत विभिन्न प्रदेशका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया