बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छ : सभापति थापा

नेपालखोज २०८२ माघ १७ गते १३:०६

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज यहा आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले देश बदल्नका लागि कांग्रेस बदलिएको बताएका छन् ।

‘समयक्रमसँगै कांग्रेस नयाँ काम, सोच र सङ्कल्पका साथ अगाडि बढेको छ, कांग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ’, सभापति थापाले भने ।

आगामी दिनमा टिकट लिन नेताको घरमा चाहर्ने प्रवृत्तिको अन्त्य हुनेगरी कार्यकर्तालाई बलियो बनाउन लागिएको उनको भनाइ थियो । लोकतन्त्र र सामाजिक न्यायको बारेमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने सभापति थापाले बताए । उनले आम नागरिकको चाहना सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाओस् भन्ने रहेको बताउँदै बदलिएको कांग्रेसले आम नागरिकको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सभापति थापाले विशेष महाधिवेशनले पार्टीभित्र गुट र भागबण्डाको राजनीति अन्त्य गरेको बताए । उनले युवाहरुको आवाजलाई कांग्रेसले सुनेर अगाडि बढेको बताउनुभयो । कांग्रेससँग सुधारको एजेण्डा र सबैलाई जोड्ने ताकत रहेको उहाँको भनाइ थियो । उनले युवाले देशभित्रै रोजगारीको अवसर दिन कांग्रेस लाग्ने बताए ।

सभापति थापाले पार्टीभित्र आफूलाई अहिलेको उचाइमा पु¥याउन काठमाडौं क्षेत्र नं ४ का कार्यकर्ता र आम मतदाताले खेलेको भूमिकाको उच्च सम्मान गरे । ‘मलाई तपाईँहरुले लगाएको गुन जीवनभर तिर्न सक्दिन, दुःखको बेलाका साथी र अभिभावक तपाईँहरु हो, नेपाली कांग्रेस र अन्य पार्टीमा रहेर मलाई भोट हाल्ने मतदाताको सहयोगका कारण म यस क्षेत्रबाट तीनपटक निर्वाचित भयाँ, यसको श्रेय तपाईँहरु आम क्षेत्र नं ४ वासीलाई जान्छ,’ उनले भने ।

सभापति थापाले मधेसलाई काठमाडौँसँग जोड्न र मधेसको मुद्दा बुझ्नका लागि आफूले सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएको बताए । कांग्रेस काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार सचिन तिमल्सिनाले काठमाडौं क्षेत्र नं ४ को विकासका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले जेनजी आन्दोलनपछि बदलिएको कांग्रेसले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको बताउँदै जितको लागि आम क्षेत्र नं ४ वासीको साथ र सहयोगको अपेक्षा गरे ।

प्रतिक्रिया