चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

नेपालखोज २०८२ माघ १७ गते १९:५९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारसँग उचित सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न माग गरेका छन् ।

एमालेको ओखलढुङ्गा काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले चुनावमा धाँधली वा अवाञ्छित क्रियाकलाप हुन नदिन शान्ति, सुरक्षाको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिए ।

उनले जिल्लाको विकास गर्ने र जनताको समस्या बुझ्ने युवा नेत्री अस्मिता थापालाई उम्मेवार बनाएकाले मतदातासँग उहाँलाई मत दिन आग्रह गरे ।

उम्मेदवार थापाले ओखलढुङ्गाका जनताले दिएको मत गलत कार्यमा प्रयोग नगर्ने भन्दै सकारात्मक काम गरेर असल छोरी र असल जनप्रतिनिधिका रूपमा प्रमाणित गर्ने दाबी गरे ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा ओखलढुङ्गा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले युवा महिला उम्मेदवार पाउँदा ओखलढुङ्गामा ठूलो उत्साह आएको धारणा राखे ।

प्रतिक्रिया