अफ्रिकन स्वाइन फिभरका लक्षण देखिएका बङ्गुर मरेपछि किसान चिन्तित

नेपालखोज २०८२ माघ १९ गते १८:५७

तनहुँ । यहाँको ऋषिङ गाउँपालिका–७ मा अफ्रिकन स्वाइन फिभर भाइरसका लक्षणसहित एक किसानका पाँचवटा बङ्गुर मरेका छन् ।

स्थानीय ऋषिराम थापाले पालेका छवटामध्ये पाँच वटा मरेको हो । करिब रु डेढ लाख मूल्य बराबरको पशुधनको क्षति भएको ऋषिङ गापा पशु शाखा प्रमुख एवं पशु स्वास्थ्य प्राविधिक पूजा खड्काले जानकारी दिए ।

उनका अनुसार ऋषिङ गाउँपालिका विभिन्न वडामा बिरामी भएका नौवटा बङ्गुरमध्ये पाँचवटा मरिसकेको र चार वटा बिरामी रहेकाले पशुमा देखिएको लक्षणअनुरुप उपचार गरिएको छ ।

‘ऋषिङ गाउँपालिकाका वडा नं २, ४ र ७ मा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरका लक्षण देखिएका छन्’ उनले भने, ‘भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौलीमा ‘¥यापिड टेस्ट’मा पोजेटिभ देखिएको छ ।’

मरेका बङ्गुरका नमूना सङ्कलन गरी थप पुष्टि गर्न पोखरा प्रयोगशालामा पठाउन लागिएको सो कार्यालयले जनाएको छ । किसानले कहाँबाट बङ्गुरका पाठापाठी ल्याइका हुन्, त्यस विषयमा परामर्श गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख रविन्सन अधिकारीले बताए ।

उक्त रोगले आक्रमण गर्दा बङ्गुरमा ज्वरो आउने, रातो धब्बा देखिने, झाडापखाला लाग्नेजस्ता लक्षण देखिन्छ । यस भाइरसबाट बच्न जैविक सुरक्षा अपनाउनु नै मुख्य उपाय मानिन्छ ।

फार्ममा अनावश्यक मानिस, सवारीसाधन, जनावरहरूको प्रवेश निषेध गर्ने, फार्म छिर्नु अघि जुत्ता–चप्पल सफा गर्ने र बेला बेलामा कीटाणुनाशक औषधि प्रयोग गर्न किसानलाई सुझाव दिइएको छ ।

प्रतिक्रिया