आर्थिक समृद्धिमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय छ : गृहमन्त्री अर्याल

नेपालखोज २०८२ माघ २२ गते १४:४६

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकभर सञ्चारको पहुँच विस्तार गर्दै आर्थिक समृद्धिमा नेपाल टेलिकमले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । नेपाल टेलिकमको २२औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्राकृतिक विपद्, भूकम्प तथा महामारीजस्ता सङ्कटका समयमा नेपाल टेलिकमले निर्वाह गरेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे ।

सेवा विस्तारसँगै डिजिटल सेवा, डिजिटल साक्षरता र समग्र देश विकासमा नेपाल टेलिकमले उल्लेखनीय योगदान पु¥याएको उनको भनाइ छ । गृहमन्त्री अर्यालले दूरसञ्चार सेवा सम्पर्कको माध्यम मात्र नभइ शैक्षिक, आर्थिक र सामाजिक विकासको प्रमुख पूर्वाधार बनेको बताए ।

सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकासको आधारस्तम्भ भएकाले यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने उनको धारणा छ । आगामी दिनमा नेपाल टेलिकमले अत्याधुनिक प्रविधिमा आधारित सेवा प्रवाह गर्दै ग्राहकको आत्मसन्तुष्टिलाई केन्द्रमा राख्ने विश्वास पनि गृहमन्त्री अर्यालले व्यक्त गरे ।

सार्वजनिक संस्था नागरिक र सरकार जोड्ने सेतु भएको उल्लेख गर्दै उनले नागरिक–सरकार सम्बन्धलाई प्रगाढ बनाउन नेपाल टेलिकमको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। सरकारको नीति तथा कार्यक्रमलाई आत्मसात् गर्दै नागरिकप्रतिको कर्तव्य निर्वाहमा नेपाल टेलिकमले सरकारसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास आफूले लिएको उनले भने ।

नेपाल टेलिकमको सुदृढीकरण र विकासमा सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि गृहमन्त्री अर्यालले व्यक्त गर्नुभयो । समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले नेपाल टेलिकमले गुणस्तरीय सेवा विस्तार गर्दै दुर्गम तथा पिछडिएका क्षेत्रमासमेत पहुँच स्थापित गरिने बताएका छन् ।

उनले नेपाल टेलिकमको सेवा विस्तारले सर्वसाधारणको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै सेवाको गुणस्तर अझै वृद्धि गरिने स्पष्ट पारे ।

समारोहमा नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीले कम्पनीले फोरजी÷एलटीई सेवाको जडान, विस्तार, स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै हाल सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीव तहमा सो सेवाको पहुँच विस्तार गरेको जानकारी दिए ।

टेलिकमका अनुसार गत असार मसान्तसम्म २१ लाख ७४ हजार ६४ क्षमता रहेको एफटिटीएच नेटवर्क हाल २२ लाख ६५ हजार पुगेको छ ।

प्रतिक्रिया