विश्वकप क्रिकेट : इङ्ल्यान्डविरुद्ध १८५ रनको लक्ष्य पछ्याएको नेपालको पावरप्लेमा मध्यम सुरुवात

नेपालखोज २०८२ माघ २५ गते १७:५०

काठमाडौं । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा मध्यम सुरुआत गरेको छ ।

भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा जारी खेलमा नेपालले छ ओभरमा दुवै ओपनर गुमाउँदै ४७ रन बनाएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउदै एक सय ८४ रनको योगफल बनायो ।

इङ्ल्याडका लागि ज्याकब बेथेलले सर्वाधिक ५५ रनको योगदान दिए । त्यसैगरी कप्तान ह्यारी ब्रुकले ५३, विल ज्याक्सले अविजित ३९ रनको योगदान दिँदा जस बटलरले २६ रन बनाए ।

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, र नन्दन यादवले समान दुई दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले समान एक÷एक विकेट झारे ।

नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकपमा सहभागिता जनाएको थियो ।

दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छ ।

प्रतिक्रिया