निर्वाचन २४ दिन बाँकी : मतदाता शिक्षा कार्यक्रम गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ ।
मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसंकेतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको छ ।
मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम गर्न शिक्षा कार्यक्रम अगाडि बढाइएको आयोगले जनाएको छ ।
डिजिटल प्लेटफर्ममा भइरहेको सचेतनालाई आयोगले वडास्तरमा पुर्याउने लक्ष्यसहित यही माघ १९ गतेदेखि मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गरिरहेको छ ।
स्वीकृत कार्यक्रम अनुसार प्रत्येक स्थानीय तहका हरेक वडामा एक/एक स्वयंसेवक परिचालन हुनेछन् ।
सम्बन्धित निर्वाचन कार्यालयबाट छनोट प्रक्रियाअघि बढाउने गरी स्थानीयस्तरमा कार्यरत बाल विकास सहजकर्ता वा मातृशिशु कार्यकर्ता वा स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट स्वयंसेवक छनोट गर्ने विधि तय गरिएको छ ।
मतदाता शिक्षा सामग्री उत्पादन र प्रभावकारी परिचालनका लागि सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यम तथा विभिन्न क्षेत्रका नियामक निकायसँग पनि सम्झौता सम्पन्न भएको छ ।
राष्ट्रिय समाचार समिति, सार्वजनिक सेवा प्रसारण नेपाल, गोरखापत्र संस्थान, विज्ञापन बोर्ड र सञ्चारमाध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपालसँग आयोगले यसअघि नै सहमति गरिसकेको छ ।
प्रभावकारी मतदाता शिक्षाले मतदातालाई मतदान प्रक्रिया, मतसंकेत र मिथ्या सूचना पहिचान गर्ने क्षमता अभिवृद्धि हुने तथा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोगले विश्वास लिएको छ ।
प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते हुँदै छ । प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ सदस्य र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ । रासस

प्रतिक्रिया