चुनावी जितलाई रूढीवादी एजेन्डामा रूपान्तरण गर्दै ताकाइची

टोकियो । जापानी प्रधानमन्त्री साने ताकाइचीले आफ्नो व्यक्तिगत लोकप्रियताबाट प्राप्त चुनावी लाभलाई सुरक्षा, अर्थतन्त्र, आप्रवासन र सामाजिक नीतिमा व्यापक रूढीवादी परिवर्तनमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएकी छन् ।
संसदीय चुनावमा दुई तिहाइ बहुमत प्राप्त भएपछि उनले उक्त शक्तिलाई ठोस कानूनी र नीतिगत कदममा अनुवाद गर्ने तयारी सुरु गरेकी हुन् ।
सोमबार उनले मन्त्रिपरिषद् पुनः गठन गर्ने र ढिलाइ भएको बजेटलाई अघि बढाउने प्रक्रिया सुरु गरिन् । यसबाट आगामी हप्ता हुने मतदानमार्फत उनी प्रधानमन्त्रीका रूपमा पुनः चयन हुने अपेक्षा गरिएको छ । एनएचकेसँगको अन्तर्वार्तामा उनले आफ्नो प्रयासले जापानलाई अझ बलियो र समृद्ध बनाउने विश्वास व्यक्त गरिन् ।
मत गणनाको नतिजाअनुसार ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टीले ३१६ सिट जित्दै ४६५ सदस्यीय तल्लो सदनमा सहज बहुमत हासिल गरेको छ । यो सन् १९५५ मा पार्टी स्थापना भएयताकै उच्च हो ।
जापान इनोभेसन पार्टीसँगको गठबन्धनसहित सत्तारूढ पक्षको कुल सिट सङ्ख्या ३५२ पुगेको छ । एलडिपी मुख्यालयमा उहाँले विजयी उम्मेदवारका नाममाथि रातो रिबन टाँस्दै खुशी व्यक्त गरिन् । यद्यपि माथिल्लो सदनमा पूर्ण बहुमत नभए पनि तल्लो सदनको बलियो समर्थनले ताकाइचीलाई अर्थतन्त्र र सैन्य क्षमताको विस्तारसम्बन्धी एजेन्डा अघि बढाउन सहज बनाएको छ ।

प्रतिक्रिया