पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

लिस्बन । पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो विजयी भएका छन् । उनले कट्टर दक्षिणपन्थी उम्मेद्वार आन्द्रे भेन्टुरालाई पराजित गर्दै स्पष्ट बहुमतसहित जित हासिल गरे ।
आधिकारिक परिणामअनुसार ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा सेगुरोले ६६.७ प्रतिशत मत प्राप्त गरी लिस्बनस्थित नदी किनारको राष्ट्रपतीय निवास ‘गुलाबी दरबार’ मा पाँच वर्षे कार्यकालका लागि निर्वाचित भए ।
भेन्टुराले ३३.३ प्रतिशत मत प्राप्त गरे । यो निर्वाचनलाई भेन्टुराको उग्र र उत्तेजक राजनीतिक अभियानप्रतिको जनसमर्थन कति गहिरो छ भन्ने परीक्षणका रूपमा हेरिएको थियो ।
उनको चेगा पार्टीले सो शैलीकै कारण पोर्चुगलको संसद्मा दोस्रो ठूलो दलको हैसियत बनाएको छ । यस मतपत्रले हालैका वर्षहरूमा युरोपभर देखिएको परिवर्तन र लोकप्रियतावादी राजनीतिप्रतिको जनआकांक्षाको मापनसमेत गरेको विश्लेषकहरूले बताएका छन् ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सामाजिक सञ्जालमार्फत सेगुरोलाई बधाई दिँदै पोर्चुगलको आवाज साझा युरोपेली मूल्यमान्यताका पक्षमा अझ बलियो रहेको उल्लेख गरे । दीर्घकालीन समाजवादी राजनीतिज्ञ सेगुरोले आफूलाई मध्यमार्गी उम्मेद्वारका रूपमा प्रस्तुत गरे ।
उनले केन्द्र–दक्षिणपन्थी अल्पसङ्ख्यक सरकारसँग सहकार्य गर्दै भेन्टुराको स्थापना विरोधी र आप्रवासीविरोधी उग्र भाष्यलाई अस्वीकार गर्ने सङ्केत दिए । बढ्दो लोकप्रियतावादी लहरलाई रोक्न चाहने बायाँ र दायाँ दुवै धारका मुख्यधाराका राजनीतिज्ञहरूको समर्थन पनि उनले प्राप्त गरे ।
पोर्चुगलमा राष्ट्रपति पद प्रायः औपचारिक र प्रतीकात्मक मानिन्छ । परम्परागत रूपमा राष्ट्रपतिले राजनीतिक विवादमा मध्यस्थता गर्दै तनाव कम गर्ने र दलगत द्वन्द्वभन्दा माथि उभिने भूमिका निर्वाह गर्दछन् ।
यद्यपि राष्ट्रपतिसँग संसद्बाट पारित कानूनहरूमा भिटो लगाउने अधिकारजस्ता प्रभावशाली औजार छन्, यद्यपि त्यस्ता भिटोहरू संसद्ले उल्ट्याउन सक्छ ।
यसबाहेक संसद् विघटन गरी समयअगावै चुनाव घोषणा गर्ने अधिकार पनि राष्ट्रपतिसँग रहने गर्दछ, जसलाई पोर्चुगलको राजनीतिक भाषामा ‘परमाणु बम’ भनेर चिनिन्छ ।

प्रतिक्रिया