जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह

नेपालखोज २०८२ माघ २९ गते १८:१४

काठमाडौं । आहारविद् तथा योग प्रशिक्षक डा राजु अधिकारीले जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह गरेका छन् ।

उनले स्वादिष्ट भोजनभन्दा शरीरलाई तन्दुरुस्त बनाउने खानेकुरामा जोड दिनुमै सबैको हित रहेको बताउनुभयो । समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रिय कर्मचारी सङ्घ, राससद्वारा केन्द्रीय कार्यालयमा आयोजित ‘सन्तुलित भोजन, स्वस्थ्य जीवन’ विषयक कार्यक्रममा डा अधिकारीले स्वस्थ्य रहन सन्तुलित भोजन र स्वस्थ्य जीवनशैली अपनाउनुपर्ने सल्लाह दिए ।

उनले सकारात्मक भाव पैदा गर्ने खानामा दिन सबैले जोड दिन र खानाप्रतिको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । डा अधिकारीले भने, ‘कम्तीमा दैनिक सात हजार पाइला हिँड्न आवश्यक छ । पत्रु खाना मात्र होइन, पत्रु जीवनशैली नै त्याग्नुपर्छ । ध्यान र योग स्वस्थ्य जीवनशैलीका लागि आवश्यक छ । विषादीजन्य खानेकुराले पार्ने नकारात्मक असरबारे सबै सचेत बन्नुपर्छ ।’

विषादी र प्रदूषणले आहारविहारमा असर पारेकाले योग, व्यायाम र सकारात्मक सोच नै स्वस्थ्यकर जीवनशैलीको मूलमन्त्र रहेकामा कार्यक्रममा चर्चा गरिएको थियो ।

प्रतिक्रिया