सूर्य नेपाल काठमाडौं ओपन, भुवन एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन भुवन नगरकोटी एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लन सफल भएका छन् । ४–अन्डर ६४ सहित समग्रमा ६–अन्डर १ सय ९८ को स्कोरमा भुवन शीर्षस्थानमा उक्लिएका हुन्। उनले दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारे ।
दिनेशले आज ४–अन्डर ६४ खेल्दै समग्रमा ५–अन्डर १ सय ९९ सहित दोस्रो स्थानमा उक्लिए । रामे मगरले समग्रमा ४–अन्डर २ सय स्कोर बनाउने क्रममा आज १–अन्डर ६७ को स्कोर कार्ड बनाए । उनी एक स्थान तल झरे। समग्रमा ३–अन्डर २ सय १ सहित सञ्जय लामा र लगातार दुई दिनका लिडर रवि खड्काले चौथो स्थान बाँडे । सञ्जयले २–अन्डर ६६ स्कोर गरे। रविले आज २–ओभर ७० को प्रदर्शन गर्दा चौथो स्थानमा तल झरे ।
नेपाल नम्बर एक निरज तामाङले रोयल नेपाल गल्फ क्लबको कोर्स रेकर्ड बराबरी गरे। उनले आज ८–अन्डर ६० को सानदार प्रदर्शन गरे। इगलबाट दिनको सुरुवात गरेका उनले तेस्रो, चौथो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे । उनले बोगी रहित ६–अन्डर २८ मा फ्रन्ट नाइन सकाए । ११ औं होलमा एक सट खेर फाले । १२ औं, १३ औं र १८ औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन २–अन्डर ३२ मा सकाए । यसअघि शिवराम श्रेष्ठ र निरजले यो कोर्समा ८–अन्डर खेलेका थिए ।
समग्रमा ३–ओभर २ सय ७ को स्कोरमा टंक बहादुर कार्की र जयराम श्रेष्ठले सातौं स्थान बाँडे। टंकले आज ६–अन्डर ६२ को उत्कृष्ट प्रदर्शन गर्दा जयरामले १–ओभर ६९ मा दिनको खेल सकाए । धन बहादुर थापा र तोरण विक्रम शाही समग्रमा ५–ओभर २ सय ९ सहित संयुक्तरुपमा नवौं स्थानमा रहे। धनले २–अन्डर ६६ र तोरणले १–ओभर ६९ को नतिजामा आजको खेल सकाए ।
एमेच्योरतर्फ महेन्द्र फगामी र राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा समग्रमा ३–ओभर २ सय ७ सहित संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। महेन्द्रले इभन–पार ६८ र राहुलले लगातार तेस्रो दिन १–ओभर ६९ को प्रदर्शन गरे । उनीहरूले युवा गल्फर स्वप्निल भट्टराईललाई २ स्ट्रोकले पछि पारे। स्वप्निलले आज १–अन्डर ६७ खेल्दै समग्रमा ५–ओभर २ सय ९ सहित तेस्रो स्थानमा छन् । भुवनले आज बोगीरहित उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पहिलो र सातौं होलमा एक–एक सट बचाए । यसपछि १० औं र १८ औं होलमा पनि बर्डी प्रहार गरे । उनले फ्रन्ट र ब्याक नाइन समान २–अन्डर ३२ खेले ।
दिनेशले फ्रन्ट नाइन ३–अन्डर ३१ मा सकाए । पहिलो, दोस्रो, चौथो, पाँचौं र आठौं होलमा बर्डीको सफलता प्राप्त गरे । छैटौं र नवौं होलमा एक–एक सट खेर फाले । यसपछि १० औं, ११ औं र १३ औं होलमा बर्डी प्रहार गरे भने १५ औं र १६ औं होलमा बोगी खेपे । ब्याक नाइन १–अन्डर ३३ मा सकाए । भेट्रान गल्फर रामेले ५औं होलमा बर्डी प्रहार गर्दा बाकी होलमा पार जोगाएसँगै फ्रन्ट नाइम १–अन्डर ३३ मा सकाए । १३ औं र १८औं होलमा बर्डी प्रहार गरे भने ११ औं र १६ औं होलमा बोगी खेल्दा ब्याक नाइन इभन–पार ३४ मा सकाए ।
चार दिन सम्म चल्ने ७२ होलको यो प्रतियोगितामा उपाधिका लागि ३४ जना व्यावसायिक तथा २१ जना एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका छन् । सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) द्वारा आयोजित प्रतियोगिताको पुरस्कार राशी कुल ८ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
विजेताले उपाधि सँगै १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५ हजार र तेस्रो हुने खेलाडीले ८५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् । यस्तै चौथो र पाँचौँ स्थानका खेलाडीले क्रमश ७१ हजार र ६३ हजार हात पार्नेछन् । शीर्ष १८ स्थानसम्म रहने प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया