सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

नेपालखोज २०८२ फागुन ४ गते ६:५९

मुस्ताङ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा कायम भएका कतिपय मतदानस्थल तथा केन्द्र सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरीमा छन् । 

नेपाल–चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएका मतदानस्थलहरू एक सय किलोमिटरभन्दा बढी दूरीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

लोमान्थाङ गाउँपालिकामा ६ वटा मतदानस्थल छन् । जहाँ दुई हजार ११ जना मतदाता छन् । यहाँका सबै मतदानस्थलमा पुग्न सदरमुकाम जोमसोमदेखि सवारीसाधनमार्फत करिब ६/७ घण्टा समय लाग्ने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । यहाँ लोमान्थाङ–२ समजुङ मतदानस्थल सारेर सोही वडाको छोसेरस्थित दिव्य माध्यमिक विद्यालय मतदानस्थलमा गाभिएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताए । 

कोरला सडक मार्गसँग जोडिएका मतदानस्थल र शाखा सडकमा रहेका मतदानस्थल सवारीसाधनको सहज पहुँचमा छैनन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदान केन्द्रहरूको दूरी पनि एक सय किलोमिटर दूरीमा छन् । कोरला सडकअन्तर्गत घिलिङ, घमी, चराङलगायतका मतदानस्थलहरू राष्ट्रिय राजमार्गसँग जोडिएकाले यातायात आउजाउमा सहज भए पनि अन्य मतदानस्थलहरू टाढा रहेकाले त्यहाँ पुग्न जोमसोमदेखि घण्टौँ लाग्ने जनाइएको छ । 

मतगणनास्थलदेखि जोमसोमसम्म मतपेटिका ल्याई पुर्‍याउन राति १२ बजेसम्म समय लाग्ने बताइएको छ । माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँच वडामा एक हजार ५४२ जना मतदाता छन् । 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका मतदान केन्द्र तथा मतदानस्थलहरूको दूरी जोमसोमबाट करिब ५० किलोमिटर छ । दुई हजार ८८५ मतदाता यस पालिकामा छन् । 

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका पाँच स्थानीय तहमा ३९ मतदानस्थल कायम गरिएका छन् । यहाँ कुल ११ हजार ३२८ जना मतदाता छन् । रासस

प्रतिक्रिया