विभिन्न देश पठाउने भन्दै ४४ लाख ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौं महानगरपालिका-३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ र खोटाङ केपिलासगढी गाउँपालिका-२ बस्ने ४८ वर्षीय मनिराज राई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
‘पक्राउ परेकामध्ये सरस्वती श्रेष्ठले जापान पठाउने भन्दै २४ लाख, दीपेश श्रेष्ठले आइसल्यान्ड पठाउने भन्दै १७ लाख तथा मनिराज राईले अल्बानिया पठाउने भन्दै तीन लाख ७० हजार रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्नै पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो,’ कार्कीले भने ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले उल्लेख गरे । रासस

प्रतिक्रिया