जाडो छल्न बेंसी झरेका मुस्ताङी मतदानका लागि गाउँ फर्किंदै

मुस्ताङ । मुस्ताङमा चुनावी माहोल विस्तारै तात्तिन थालेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदा चुनावी चहलपहल सुरु भएको हो ।
निर्वाचनमा होमिएका उम्मेदवार मतदाता रिझाउन बेँसीमै व्यस्त थिए । तर जाडो छल्न बेंसी झरेका मतदाता फर्किन थालेपछि उम्मेदवार पनि मतदातासँगै लेकतिर उक्लिन थालेका छन् ।
मुस्ताङमा चार राजनीतिक दलका उम्मेदवारले पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरेका छन् । यहाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा), मङ्गोल नेशनल अर्गनाइजेशन, उज्यालो नेपाल र आम जनता पार्टीका उम्मेदवारले घरदैलो गरेका थिए । अहिले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङले थासाङ गाउँपालिकादेखि घरदैलो थालेको बताए ।
उम्मेदवारी दर्ता गराएपछि पूरै एक महिनाभन्दा बढी समय पोखरा, काठमाडौंमा रहेका मुस्ताङी मतदातासँग भेट गरेपछि जिल्लामै रहेका मतदाता भेट्नमा व्यस्त रहेको उनले बताए । यसैगरी उज्यालो नेपाल पार्टीका उम्मेदवार डा सुरेन्द्र शेरचनले माथिल्लो मुस्ताङमा चुनावी घरदैलो सकेर काठमाडौं फर्किएको बताए ।
बेंसी झरेका कतिपयले बेंसीमै घुम्ती ब्यापार सञ्चालन गर्छन् । माथिल्लो मुस्ताङका दुई स्थानीय तहका ८० प्रतिशत बढी मतदाता बेंसी झरेका थिए । तल्लो मुस्ताङका पनि ५० प्रतिशत बढी मतदाता बेंसी झरेका थिए । यहाँस्थित जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सुरक्षा समितिलगायतले निर्वाचन तयारीलाई तीव्रता दिइरहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।
निर्वाचन तयारीका लागि हालसम्म पाँच वटै स्थानीय तहका मतदानस्थलमध्ये ९० प्रतिशत मतदानस्थलको स्थलगत अवलोकन गरिसकेको उनले बताए ।
निर्वाचनका लागि जिल्ला सुरक्षा योजना तयार भइसकेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिए । उनका अनुसार निर्वाचन सुरक्षाका लागि चारवटै सुरक्षा निकाय परिचालित भइसकेका छन् । २३५ नेपाल प्रहरी र २६६ निर्वाचन प्रहरी गरी ५०१ सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
सशस्त्र प्रहरीले सशस्त्र र निर्वाचन प्रहरी गरी २०० बढी सुरक्षाकर्मी खटाएको छ । निर्वाचनका लागि यहाँका ३९ मतदानस्थलमा २४० जना कर्मचारी र ८६ जना स्वंयसेविक खटाइने जनाइएको छ ।

प्रतिक्रिया