प्रतिनिधिसभा सदस्य निर्वाचन : दैलेखमा रोचक भीडन्त

दैलेख । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दैलेखका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ ।
विगतका निर्वाचनमा सहकार्य गरेका र एक अर्काका कडा प्रतिस्पर्धी रहेका नेताहरू पुनःचुनावी मैदानमा आमनेसामने भएपछि यहाँको प्रतिस्पर्धा रोचक र चुनौती पूर्ण बन्ने देखिएको छ ।
विशेषगरी निर्वाचन क्षेत्र नं. १ मा लामो समयपछि नेपाली कांग्रेसले आफ्नै उम्मेदवार उठाएको छ भने क्षेत्र नं. २ मा पुराना दल र नयाँ शक्तिको बहुकोणीय भीडन्त हुने देखिएको छ ।
क्षेत्र नं १ कांग्रेसको पुनरागमन र महिला नेतृत्वको चुनौती यसअघिका २०७४ र २०७९ का निर्वाचनमा चुनावी तालमेलका कारण उम्मेदवार नउठाएको नेपाली कांग्रेसले यसपटक दैलेख क्षेत्र नं. १ मा बासना थापालाई चुनावी मैदानमा उतारेको छ । थापा दैलेखको संसदीय इतिहासमा कांग्रेसबाट उम्मेदवार बन्ने पहिलो महिला उम्मेदवार हुन् ।
यस क्षेत्रमा उनका मुख्य प्रतिस्पर्धीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रवीन्द्रराज शर्मा र नेपाली कम्युनिष्ट पार्टीका अम्बरबहादुर थापा रहेका छन् । शर्मा २०७४ का विजयी र २०७९ का निकटतम प्रतिद्वन्द्वी छन् भने थापा २०७९ को निर्वाचनमा तत्कालीन गठबन्धनबाट निर्वाचित सांसद हुन् ।
विसं २०७९ को निर्वाचनमा थापाले १८ हजार २९७ मत ल्याएर विजयी हुँदा शर्माले १७ हजार ४४५ मत पाएका थिए । यसपटक कांग्रेसले आफ्नै उम्मेदवार उठाएको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नन्दकिशोर बस्नेत मैदानमा रहेकाले मत परिणाम कता ढल्किन्छ भन्नेमा कौतुहलता बढेको छ ।
इतिहास रच्ने कसरत
निर्वाचन क्षेत्र नं. २ मा चार राजनीतिक धारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसले आफ्नो बिरासत जोगाउन दिक्पालकुमार शाहीलाई पुनः उम्मेदवार बनाएको छ ।
शाही २०७९ मा माओवादी र एकीकृत समाजवादीको सहयोगमा झिनो मतान्तरले विजयी भएका थिए । नेकपा (एमाले)बाट पूर्वसंविधानसभा सदस्य लक्ष्मीप्रसाद पोखरेल चुनावी मैदानमा छन् । विसं २०७९ मा मात्र १६७ मतान्तरले पराजित एमाले यसपटक गुमेको साख फर्काउने दाउमा छ । अर्कोतर्फ, नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार एवं कर्णाली प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष योगेन्द्रबहादुर शाहीको उपस्थितिले यहाँको अङ्क गणित फेरबदल हुने अनुमान गरिएको छ ।
उनको बौद्धिक छवि र पुरानो एमाले पृष्ठभूमिका कारण उनले दुवै ठूला दलको मत काट्न सक्ने विश्लेषण गरिएको छ । रास्वपाबाट इञ्जिनीयर बखतबहादुर शाहीले उम्मेदवारी दिएपछि यस क्षेत्रमा चतुष्कोणीय भीडन्त हुने निश्चित छ ।
पुराना र नयाँ अनुहार
दैलेखका दुवै क्षेत्रमा पुराना र ‘परिचित’ अनुहार दोहोरिएका कारण मतदातामा कतै उत्साह त कतै नैराश्यता देखिएको छ । पुराना प्रतिस्पर्धीहरू पुनः आमने सामने हुँदा उनीहरूको व्यक्तिगत प्रभाव र पार्टीको सङ्गठन नै जितको मुख्य आधार हुने देखिन्छ ।
यद्यपि, नयाँ र बौद्धिक उम्मेदवारहरूको प्रवेशले ‘टेस्टेड’ नेतालाई रक्षात्मक अवस्थामा पुर्याएको स्थानीय राजनीतिक विश्लेषककको ठहर छ ।
स्थानीय पर्यटन व्यवसायी, महिला अधिकारकर्मी र बौद्धिक क्षेत्रका व्यक्तित्वहरू चुनावी मैदानमा उत्रिएपछि युवा र तटस्थ मतदाताको झुकाव नयाँ शक्तितिर जान सक्ने आकलन गरिएको नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्मा बताए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दैलेखमा कूल एक लाख ६१ हजार २०४ मतदाता रहेका छन् । क्षेत्र नं. १ मा ७९ हजार ७०१ र क्षेत्र नं. २ मा ८१ हजार ५०३ मतदाताले फागुन २१ गते आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्नेछन् ।
विकास, सुशासन र सक्षम नेतृत्वलाई मुख्य एजेण्डा बनाएका उम्मेदवारहरूमध्ये कसले बाजी मार्नेछ भन्ने कुरा निर्वाचनको अन्तिम नतिजाले नै प्रष्ट पार्नेछ । -रासस

प्रतिक्रिया