अमेरिकी ‘सीमित आक्रमण’ पनि आक्रामकता : इरान

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘सीमित आक्रमण’ गर्ने विकल्प विचाराधीन रहेको सङ्केत दिएपछि तेहरानले कुनै पनि प्रकारको अमेरिकी सैन्य कारबाहीलाई प्रत्यक्ष आक्रामकता मानिने चेतावनी दिएको छ ।
इरानले यस्तो कदमको कठोर प्रतिकार गरिने स्पष्ट पारेको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा सीमित आक्रमण भन्ने अवधारणा नै अस्वीकार्य रहेको बताए । शुक्रबार ट्रम्पले तेहरानसँग सहमति हुन नसके ‘सीमित आक्रमण’ गर्न सकिने सम्भावना विचार गरिरहेको बताएका थिए ।
पत्रकारहरूको प्रश्नको जवाफमा उनले ‘मैले त्यसबारे विचार गरिरहेको छु’ भनेका थिए । उक्त अभिव्यक्तिपछि क्षेत्रीय तनाव थप चर्किएको छ । यसैबीच, ओमानको मध्यस्थतामा इरान र संयुक्त राज्य अमेरिका बीच स्विट्जरल्यान्डमा दोस्रो चरणको अप्रत्यक्ष वार्ता सम्पन्न भएको छ ।
दुवै देशले वार्ता जारी रहेको जनाएका छन्, यद्यपि अमेरिकी पक्षले आगामी चरणको मितिबारे औपचारिक पुष्टि गरेको छैन । इरान र ओमानका अनुसार थप वार्ता बिहीबारका लागि तय गरिएको छ ।
वार्तामा इरानका तर्फबाट विदेशमन्त्री अब्बास अराघचीले नेतृत्व गरिरहनुभएको छ भने अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राजदूत स्टिभ विटकफले गरेका छन् । वार्तामा ट्रम्पका ज्वाइँ जारेड कुशनर पनि संलग्न छन् ।
अमेरिकाले क्षेत्रमा सैन्य उपस्थिति बढाइरहेका बेला इरानले किन ‘आत्मसमर्पण’ नगरेको भन्ने ट्रम्पको जिज्ञासाबारे विटकफले आइतबार फक्स न्युजसँगको अन्तर्वार्तामा टिप्पणी गर्नुभएको थियो । त्यसको जवाफ दिँदै प्रवक्ता बाकाईले ‘इरानीहरूले आफ्नो इतिहासमा कहिल्यै आत्मसमर्पण गरेका छैनन्’ भने । –रासस/एएफपी

प्रतिक्रिया