निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य नगर्न काउन्सिलको आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले आज प्रेस विज्ञप्ति जारी गरी निर्वाचनमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै त्यो भूमिकालाई थप निष्ठापूर्वक निर्वाह गर्न आग्रह गरे ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगत्को पनि विशेष भूमिका हुने हुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न र आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न पनि काउन्सिलको आग्रह छ ।’
यस्तै, स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न, नगराउन काउन्सिलले आमसञ्चारमाध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया