अवैध लागूऔषध सहित ६ जना पक्राउ

नेपालखोज २०८२ फागुन १३ गते १२:५९

काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ जिरोबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिस थापा समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा समेतबाट खटिएको प्रहरीले ना.२२ प ८२५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित कलकत्ता बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित कृष्णपुर नगरपालिका–३ देखदभुली बस्ने २० वर्षीय दिपेश रानालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पचुइबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–२ बैजनाथ टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका–२ डेरा गरी बस्ने बर्दगोरिया गाँपालिका–२ घर भएका २९ वर्षीय कनैया चौधरी समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न तीन जना पक्राउ
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ घर भएका २६ वर्षीय फपेन्द्र न्यौपाने, जुम्ला तिला गाउँपालिका–८ घर भएका ३६ वर्षीय धनराज बस्नेत र कास्की माछापुच्छ्रे गाउँपालिका–७ घर भएका ४२ वर्षीय शिव बहादुर घर्ती रहेका छन् । काठमाडौं महानगरपालिका–१२ टेकुस्थित शिव बहादुरले संचालन गरेको रोडलाईन प्यालेस होटलमा पीडितलाई बन्धक बनाई कुटपिट गरी घाइते बनाएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितको सकुशल उद्दार गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहिको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एकजना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय, चाइनिज युआन ७ हजार ४ सय र फेम हुन्ड्रा कर्नर (स्विडेन) ४३ हजार सहित स्वीडिस नागरिक ५१ वर्षीया कुञ्चोक खान्द्रो मंगलबार बिहान पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

भरूवा बन्दुक बरामद
छत्रेश्वरी गाउँपालिका–२ रानीपोखरीस्थित जुम्ले सल्ला सामुदायिक वनबाट भरूवा बन्दुक ६ थान मंगलबार बेलुकी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यसैगरी सल्यानको शारदा नगरपालिका–२ डाडागाउँस्थित सल्लेरी वनबाट भरूवा बन्दुक १ थान मंगलबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनमा दुई जनाको मृत्यु
हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित सडकमा ना. ४३ प २२१ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक राक्सिराङ गाउँपालिका–१ बस्ने २२ वर्षीय संजित स्याङ्तान र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय अमोश थिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार सवारी साधन र चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया