नवलपरासी पूर्वमा तीन हजार सात सय छयालीस हेक्टर क्षेत्रमा तोरी खेती

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेती गर्ने किसानको सङ्ख्या बढेको हो ।
अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसानहरू तोरीखेतीमा आकर्षित भएको कृषि विकास कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का कृषि अर्थ विज्ञ सञ्जय ढकालले बताए ।
यस वर्ष जिल्लामा तीन हजार ७४६ हेक्टर क्षेत्रमा तोरी बाली लगाइएको ढकालले बताए । गत वर्ष जिल्लामा तीन हजार ७२५ हेक्टर क्षेत्रमा तोरीखेती गरिएको थियो । गत वर्षको भन्दा यस वर्ष थप २१ हेक्टर क्षेत्रमा तोरीखेती विस्तार भएको कृषि अर्थविज्ञ ढकालले जानकारी दिए ।
अठीदेखि ९० दिनमा तोरीखेती तयार हुन्छ । आफैँले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलको रूपमा प्रयोग गर्न पाइने भएकाले पनि किसानहरू तोरीखेतीप्रति आकर्षित हुँदै गएका छन् । वर्षौंदेखि तोरीखेती लगाउँदै आउनुभएका कावासोती नगरपालिका–१५ का धनपति अधिकारीले घरमा वर्षभरि खान र केही बेच्न पनि पुग्ने गरी तोरी लगाएको बताए ।

प्रतिक्रिया