युक्रेन युद्ध अन्त्यका लागि ‘कुनै समयसीमा नहुने’ रुसको घोषणा

मस्को । मस्कोलाई युक्रेनमा युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्न हतार नभएको विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार रूसी सरकारी सञ्चारमाध्यमसँग बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी द्वन्द्व अन्त्य गर्ने प्रयासमा अघि सारेको वार्ता प्रक्रियाको एक हिस्सा जारी रहेका बेला दुवै देशका वार्ताकारहरु बिहीबार जेनेभामा पुगेका थिए ।
अमेरिकी मध्यस्थतामा युद्धरत मुलुकका प्रतिनिधिबीच धेरै चरणका छलफलहरू भएपनि सम्झौता गर्न असफल भएका छन्, मस्कोले कट्टरपन्थी क्षेत्रीय र राजनीतिक मागहरूमा जोड दिएको छ जसलाई किएभले आत्मसमर्पण हसने भन्दै अस्वीकार गरेको छ । रुसका उच्च अधिकारीहरूले बिहीबार फेरि सम्झौता नजिकिँदै गरेको भन्ने भनाइलाई खण्डन गरेका छन् ।
‘के तपाईंले हामीबाट समयसीमाको बारेमा केही सुन्नुभएको छ? हामीसँग कुनै समय सीमा छैन, हामीसँग प्रक्रियागत कार्यहरू छन् र तिनीहरूलाई पूरा गर्ने काम भइरहेको छ,’ राष्ट्रिय समाचार संस्थाहरूले लाभरोभलाई उद्धृत गर्दै भने । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि शान्ति प्रक्रिया कुन चरणमा छ भनेर पूर्वानुमान गर्न हतार नभएको बताउनुभएको छ । उहाँले सञ्चारमाध्यमसँगको कुराकानीमा भने, ‘कुनै प्रकारको चरण परिभाषित गर्न वा पूर्वानुमान गर्न अहिले नै प्रयास गर्नु ठूलो गल्ती हुनेछ। म ती गल्तीहरू गर्न चाहन्न।’
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी नेता भ्लादिमिर पुटिनसँग प्रत्यक्ष बैठक आवश्यक भएको बारम्बार बताउँदै आउनुभएको छ । रूसले कब्जामा लिएको पूर्वी युक्रेनको क्षेत्र रूसमा गाभिनुपर्ने रूसको अडान जारी रहेको छ भने युक्रेनले आफ्नो भूमि रूसलाई दिनु उसलाई भविष्यमा थप आक्रमण गर्न हौसला दिनु भएको भन्दै यस बिषयमा अस्विकृति जनाउँदै आएको छ । पेस्कोभले बिहीबार पनि भने, ‘रुस वाता निष्कर्षमा पुग्ने सुनिश्चितता नहुँदासम्म शिखर वार्ताका लागि सहमत हुनेछैन र वार्ता टोलीहरू बीच भएको सम्झौतामा हस्ताक्षर मात्र हुनेछ।’ -रासस/एएफपी

प्रतिक्रिया