आतंकवादविरूद्धको लडाइमा सहकार्य गर्ने भारत र इजरायलबीच सहमति

नेपालखोज २०८२ फागुन १४ गते २०:३८

जेरुसेलम । भारत र इजरायलले आतङ्कवादविरूद्धको लडाईँमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार इजरायलको भ्रमणका शिलशिलामा बताएका छन् ।

सन् २०१४ मा प्रधानमन्त्री बनेयता प्रधानमन्त्रीका रूपमा मोदीको यो दोस्रो इजरायल भ्रमण हो । जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले भने, ‘भारत र इजरायल विश्वमा आतङ्कवादका लागि कुनै ठाउँ छैन भन्ने कुरामा स्पष्ट छन् । हामी काँधमा काँध मिलाएर आतङ्कवादविरूद्ध अभिनेछौँ ।’ उनले थपे, ‘मानवता कहिल्यै पनि द्वन्द्वको शिकार बन्नु हुँदैन ।’

एक दिनअघि इजरायलको संसदलाई सम्बोधन गरेका प्रधानमन्त्री मोदीले इजरायल र भारतबीच भविष्यमा प्रविधि र ऊर्जासहित विभिन्न क्षेत्रमा सहकार्यको चर्चा गरे । ‘हामी मिलेर संयुक्त विकास, उत्पादन र प्रविधि हस्तान्तरणका दिशामा अघि बढ्नेछौँ,’ उनले भने । उनले भने, ‘एकै समयमा, हामी नागरिक परमाणु ऊर्जा र अन्तरिक्षजस्ता क्षेत्रमा हाम्रो सहयोगलाई पनि अगाडि बढाउनेछौँ।’

दुवै नेताले भ्रमणलाई व्यापार र प्राविधिक सहयोगलाई प्रगाढ बनाउने उद्देश्यका साथ गरिएका पहलहरूको रूपमा घोषणा गरे । उनीहरूले स्वतन्त्र व्यापार सम्झौताको दिशामा प्रगति, लगानी र नवीनताका माध्यमहरू विस्तारका बारेमा छलफल भएका बताए । सेमीकन्डक्टर र कृत्रिम बौद्धिकतादेखि डिजिटल भुक्तानी एकीकरणसम्मका लागि भारतको ‘यूपीआई प्रणाली’लाई इजरायली बजारमा ल्याउने सहमति भएको पनि प्रधानमन्त्री मोदीले बताए ।

इजरायली अधिकारीहरूले यो भ्रमणलाई एक बलियो र विस्तारित साझेदारीको अभिव्यक्तिको रूपमा चित्रण गरेका थिए र नेतान्याहूले मोदीलाई ‘एक मित्रभन्दा बढी, एक भाइ’ को रूपमा वर्णन गरेका थिए । नेतान्याहुले बिहीबार मोदीको छेउमा उभिएर भने, ‘भविष्य जसले नवीन आविष्कार गर्छन् उनीहरूको हो र इजरायल र भारत नवप्रवर्तनमा तल्लीन छन् ।’

बिहीबार दुई नेताको उपस्थितिमा दुई देशबीच शिक्षा, भौगोलिक अन्वेषण र कृत्तिम बौद्धिकता (एआई) का क्षेत्रमा दर्जनभन्दा बढी सम्झौतामा हस्ताक्षर भएको थियो । मध्यपूर्व र गाजा द्वन्द्व वरपरको तनाव शान्त गर्न यस क्षेत्रमा कूटनीतिक पहल जारी राखेका बेला मोदीको भ्रमण भएको हो । -रासस/एएफपी

प्रतिक्रिया