एमालेको घोषणापत्रको सार- देश पहिला

नेपालखोज २०८२ फागुन १४ गते २०:४३

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि नेकपा एमालेले जारी गरेको घोषणापत्रको सार ‘देश पहिला’ रहेको बुद्धिजीवीहरुले वताएका छन् । नेपाल बौद्धिक परिषद्ले आयोजना गरेको नेकपा एमालेको घोषणापत्र माथिको बौद्धिक विमर्श कार्यक्रममा बोल्दै बुद्धिजीवीहरुले यसपटकको एमालेको घोषणापत्रले देशलाई पहिलो प्राथामिकता दिएको वताएका छन् । उनीहरुले एमालेको घोषणापत्र यथार्थपरक र कार्यान्वयन गर्न सकिने भएको समेत वताएका हुन् ।

कार्यक्रममा वोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा शिवराज अधिकारीले एमालेले राजनीतिक विषय वस्तुलाई मुख्य मान्दै देश पहिला भन्ने मान्यता अगाडि सारिएको बताए । घोषणापत्रमा राखेको ७–९ प्रतिशत आर्थिक वृद्धिदर र अर्थतन्त्रको आकार अगामि ५ वर्षमा १०० खर्व पुर्याउने लक्ष्य यथार्थ नजिक रहेको वताउँदै डा. अधिकारीले पार्टीले तयार गरेका समृद्धिका २५ स्तम्भहरु एकले अर्कोलाई सहयोग गर्ने गरी तयार गरिएको समेत बताए ।

पूर्व राजदुत डा. नेत्र तिम्सिनाले एमालेले घोषणापत्रमा प्राथामिकताका पाँच क्षेत्र, तत्काल गर्ने ११ काम र समृद्धिका २५ स्तम्भ उल्लेख गरिएको वताउँदै यस पटकको घोषणापत्र यथार्थपरक भएको बताए । महिला, दलित तथा सीमान्तकृत समुदायका सवालहरु सवै क्षेत्रमा क्रस कटिंग रुपमा राखिएको वताउँदै डा. तिम्सिनाले एमाले घोषणापत्रमा देश, युवा, श्रम रोजगार र व्यावसाय तथा विकास र समृद्धिले प्राथामिकता पाएको जानकारी दिए ।

मानव अधिकारकर्मी विदुर सुवेदीले घोषणापत्रले सामाजिक न्याय र असमानताका सवाललाई पोलिसी र वजेटमा जोड्न सके घोषणापत्र कार्यान्वयन गर्न सकिने बताए । एमालेले ग्रासरुटका सवालहरु सम्वोधन गर्न गतिशील गाउँ र शहरलाई जोड्ने अवधारणा अगाडि सारेको उनको धारणा थियो ।

यसैगरी खाद्य अधिकार विज्ञ डा. यमुना घलेले एमाले घोषणापत्रमा प्रजातन्त्र पुनस्थापना भए यताका उपलव्धीलाई समीक्षा सहित चर्चा गरिएको र यसले देश र लोकतन्त्रलाई प्राथामिकता दिएको बताए । डा. घलेले एमालेले अगाडि सारेको गतिशील गाउँको अवधारणाले महिला, दलित र युवालाई बढी लाभ पुग्ने समेत बताए ।

राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईले एमालेको घोषणापत्र युवा केन्द्रीत र क्याचि रहेको वताउँदै तथ्य र तथ्यांकमा आधारित भएको समेत बताए । कार्यक्रममा सहभागी बामपन्थी बुद्धिजीवीहरु र विभिन्न क्षेत्रका विज्ञहरुले देशको भूराजनीतिक अवस्था र अहिलेको तरल राजनीतिक अवस्थाका कारण राष्ट्रवादी शक्तिहरुलाई जनताले मतदान गर्नुपर्ने बताए ।

प्रतिक्रिया