गाईभैँसीमा थुनेलो रोग

नेपालखोज २०८२ फागुन १५ गते ९:२१

पर्वत । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने रोग थुनेलो परीक्षण गर्न थालेको छ । व्यावसायिक प्रयोजनका लागि गाईभैँसीपालन गरेका कृषकलाई थुनेलो रोगको सङ्क्रमणबाट उत्पादनमा ह्रास आउन नदिनका लागि कार्यालयले जिल्लाका सातवटै पालिकामा पुगेर थुनेलो परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको हो ।

स्थानीय तहको सहकार्यमा व्यावसायिक रुपमा गाईभैँसीपालन गरिरहेका किसानको गोठमा पुगेर गाईभैँसीमा लाग्ने थुनेलो परीक्षण गरी आवश्यक औषधि उपचार गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यालयले जिल्लाको विहादी, पैँयू, मोदी, जलजला गाउँपालिकाका विभिन्न वडामा पुगेर गाईबस्तुको स्वास्थ्य परीक्षण गरेको छ । जिल्लाका चार स्थानीय तहमा ५०० गाईभैँसीको थुनेलो परीक्षण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । कार्यलयका अनुसार ५०० गाईभैँसीमा गरिएको थुनेलो परीक्षणमा १५० गाई भैँसीमा थुनोलो रोगको सङ्क्रमण भेटिएको छ ।

थुनेलो परीक्षणसँगै गाईबस्तुको गर्भ परीक्षण, कृत्रिम गर्भाधानमा देखिएका समस्या समाधानलगायका बारेमा गोठमै पुगेर प्राविधिकले उपचार गरेका हुन् । रोग लागेका पशु चौपायाको लागि आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको छ । स्थलगत रुपमा गोठमै पुगेर प्राविधिक सेवा पाउँदा किसानहरुले आफूहरुलाई धेरै राहत पुगेको बताएका छन् ।

पहिले पहिले यस्ता खालका रोग लाग्दा उपचार नपाएर भैँसी मासुका लागि बिक्री गर्ने गरेको र गाई छाडा छाड्नुपर्ने अवस्थ भएकोमा अहिले उपचारसेवा पाएपछि फाइदा पुगेको जलजला–८ फर्सेका भक्तबहादुर केसीले बताए ।

कार्यालयले दोस्रो चरणको अभियानअन्तर्गत फलेवास नगरपालिका र कुश्मा नगरपालिकाका व्यावसायिक किसान तथा फार्ममा पुगेर गाईबस्तुको उपचार गर्ने योजना रहेको जनाएको छ ।

कृषकको सहजताका लागि हरेक वर्ष दुई चरणमा गाईभैँसी, बाख्राको स्वास्थ्य परीक्षण गरेको छ । पर्वतमा यसअघि सबै पशुलाई पूर्ण खोपसमेत लगाइसकिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया