निर्वाचनमैत्री होली मनाऔं- कार्यवाहक प्रमुख आयुक्त भण्डारी

नेपालखोज २०८२ फागुन १५ गते १८:५६

वीरगञ्ज (पर्सा) । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समग्र मुलुकभरिमा निर्वाचनको तयारी सौहार्दपूर्ण वातावरणमा अघि बढिरहेको बताएका छन् ।

पर्सा र बारा जिल्लाको ‘निर्वाचन सुरक्षाको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयक छलफल कार्यक्रममा अहिले मुलुकभरि निर्वाचनमैत्री वातावरण बन्दै गइरहेको उनले उल्लेख गरे ।

‘अहिले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना न्यून रहेका छन् । निर्वाचन प्रचारप्रसारमा मितव्ययीता कायम भएको छ । एकले अर्काेलाई निषेधको राजनीति गर्न खोजे पनि सोको बेलैमा पहिचान भएर कम गर्न सकिएको छ’, उनले भने, ‘त्यो निषेधको राजनीति अहिले निषेध भएको छ ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले विगतको तुलनामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कमी आएको दाबी गरे । ‘होली, निर्वाचन आचारसंहिता र निर्वाचनलाई सँगसँगै लैजादैँछौँ’, उनले भने, ‘निर्वाचनमैत्री होली मनाउन आयोग सम्पूर्णलाई अनुरोध गर्दछ ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले होलीलाई तड्कभड्कयुक्त नभएर निर्वाचनमैत्री, शान्तिपूर्ण र सौहार्दपूर्ण ढङ्गले मनाइदिनका लागि आह्वान गरेका छन् । ‘होली र निर्वाचन सँगसँगै अघि बढाउने छौँ । यसको सबैको साथ र सहयोग अनिवार्य छ’, उनले भने, ‘केही सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । सोबारे अध्ययन गरी थप आवश्यक कारबाही प्रक्रिया अघि बढाएका छौँ ।’

प्रतिक्रिया