कालीकोटमा निर्वाचन अवधिमा ड्रोन उडाउन प्रतिबन्ध

मान्म (कालिकोट) । कालिकोटमा ‘रिमोटली प्वाइन्टेट एयरक्राप्ट’ (आरपीए) र ‘ड्रोन क्यामेरा’ उडाउन तीन दिनका लागि प्रतिबन्ध लगाइएको छ । यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर निर्वाचन भन्दा तीन दिनअघिदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि आरपीए र ड्रोन उडाउन प्रतिबन्ध लगाउने निर्णय जिल्ला सुरक्षा समितिले गरेको हो ।
सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा व्यक्तिगत र संस्थागत तवरबाट विभिन्न उद्देश्यहरू लिई आरपीए/ड्रोनलगायत उपकरणको प्रचलन बढ्दै आएको र सुरक्षा अवस्थामा असर नपुग्नेगरी उडान, अनुमति र अन्य नियमनसम्बन्धी व्यवस्थालाई अद्यावधिक गर्न मानवरहित हवाई उपकरण आरपीए/ड्रोन उडानसम्बन्धी कार्यविधि, २०७५ जारी भई लागूसमेत भइसकेकाले निर्वाचन अवधिमा उडान गर्न प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए ।
निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी अनुमति लिई सञ्चालनमा रहेका ड्रोन प्रयोगकर्ताको हकमा निर्वाचन मितिभन्दा तीन दिन अगाडिदेखि निर्वाचन सम्पन्न नहुँदासम्म आरपीए/ड्रोन उडान प्रतिबन्ध लगाइएको उनले बताए ।
उनले निर्वाचन अवधिमा सुरक्षा निकायबाहेक अन्य व्यक्ति/संस्थालाई ड्रोन उडानमा रोक लगाउने निर्णय भएको र अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने उल्लेख गरे ।

प्रतिक्रिया